राजीव कुशवाहा, विराटनगर। समाजमा दिनप्रतिदिन बढ्दो सामाजिक विकृति, मानसिक तनाव र दिशाविहीनताका कारण उत्पन्न चुनौतीलाई मध्यनजर गर्दै कुशवाहा राष्ट्रसेवक समाज नेपाल, विराटनगरले विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
‘मनोपरामर्श तथा जीवनवृत्ति सम्बन्धी अन्तरक्रिया कार्यक्रम’ सोमबार विराटनगरस्थित जेष्ठ नागरिक सामुदायिक भवनमा सम्पन्न भएको हो। कार्यक्रमको उद्देश्य युवाहरुलाई मानसिक स्वास्थ्य, कानुनी चेतना र भविष्य निर्माणका विषयमा सशक्त बनाउनु रहेको आयोजक संस्थाले जनाएको छ।
संस्थाका अध्यक्ष रामखेलौन मेहताका अनुसार समाजमा फैलिंदै गएको लागूपदार्थ दुरुपयोग, आत्महत्याको प्रवृत्ति र सामाजिक अन्यायजस्ता समस्याको समाधानका लागि युवा लक्षित कार्यक्रमको आवश्यकता महसुस गरिएको हो। “युवालाई सकारात्मक मार्गदर्शन दिँदै मानसिक सशक्तिकरण र व्यावसायिक दिशानिर्देशन दिन यो कार्यक्रम आयोजना गरिएको हो,” अध्यक्ष मेहताले बताए।
कार्यक्रममा कक्षा १०, +२ र स्नातक तहमा अध्ययनरत १४२ जना विद्यार्थीको उल्लेखनीय उपस्थिति थियो। उनीहरूलाई विभिन्न क्षेत्रमा विशेषज्ञ व्यक्तिहरूले प्रशिक्षण दिएका थिए।
प्रशिक्षकहरूमध्ये प्रमुख रूपमा प्रोफेसर डा. रामशरण मेहता, सहायक जिल्ला न्यायधिवक्ता शिमा यादव, डा. उपेन्द्र मेहता र कोशी अस्पतालका जनस्वास्थ्य अधिकृत गजेन्द्र यादव सहभागी थिए। प्रो. डा. मेहताले मानसिक स्वास्थ्यका पक्षमा प्रकाश पार्दै आत्मविश्वास र सकारात्मक सोचको विकासमा जोड दिए।
न्यायधिवक्ता शिमा यादवले कानुनी चेतना, बालअधिकार र साइबर सुरक्षाबारे जानकारी दिइन्। डा. उपेन्द्र मेहताले करियरको स्पष्ट लक्ष्य कसरी निर्धारण गर्ने भन्नेमा मार्गदर्शन गरे भने जनस्वास्थ्य अधिकृत गजेन्द्र यादवले मानसिक सन्तुलन र स्वस्थ जीवनशैलीको महत्त्वबारे मन्तव्य राखे।
कार्यक्रमले युवामा आत्मपरिचय, सकारात्मक दृष्टिकोण र व्यावसायिक लक्ष्यप्रति स्पष्टता ल्याएको विश्वास आयोजक संस्थाले व्यक्त गरेको छ।
सहभागी विद्यार्थीहरूले पनि कार्यक्रमलाई उपयोगी, मार्गदर्शक र प्रेरणादायी रहेको प्रतिक्रिया दिएका छन्।
कुशवाहा राष्ट्रसेवक समाज नेपालले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।