वार्षिक योजना निर्माणमा दलित, महिला र अपाङ्गता भएका व्यक्तिको सहभागिता माग

newsdesk


मलंगवा, सर्लाही, बैशाख २४ – महिला, दलित, अपाङ्गता भएका व्यक्तिहरू, बालबालिका, यौनिक अल्पसंख्यक लगायत सिमान्तकृत तथा पछाडि पारिएका समुदायहरूको आगामी आर्थिक वर्षको योजना तथा बजेट निर्माण प्रक्रियामा अर्थपूर्ण सहभागिता सुनिश्चित गरिनुपर्ने मागसहित मलंगवा नगरपालिका वडा नं.  ६ मा विभिन्न संघसंस्थाले वडाध्यक्षलाई ध्यानाकर्षण गराएका छन्।

नेपाल दलित सेवा समाज (NDSS), दलित महिला केन्द्र नेपाल (CDWN), महिला पुनःस्थापना केन्द्र (WOREC), महिला मानव अधिकार सञ्जाल, रक्षक, आशिष सामाजिक नेपाल, पहिचान नेपाल लगायतका संघसंस्थाले संयुक्त रूपमा ध्यानाकर्षण पत्र बुझाउँदै स्थानीय सरकारको वार्षिक योजना तथा बजेट तर्जुमा प्रक्रियामा “कोही पनि नछुटुन्, कोही पनि पछाडि नपरोस्” भन्ने मूल अवधारणालाई व्यवहारमा उतार्न जोड दिएका छन्।

संघसंस्थाले “हाम्रो सहकार्य परियोजना” अन्तर्गत समुदायस्तरमा सक्रिय महिला पैरवी समूह, किशोर–किशोरी समूह, पुरुष समूह तथा अन्तरपुस्तीय समूहहरूद्वारा विभिन्न सचेतनामूलक तथा आर्थिक सशक्तिकरणका गतिविधि सञ्चालन हुँदै आएको जानकारी गराएका छन्। स्थानीय मुद्दाहरू पहिचान गरी समुदायमै कार्ययोजना बनाउने र कार्यान्वयन गर्ने यी समूहहरूलाई वडाको आगामी वर्षको नीति, कार्यक्रम र बजेटमा समावेश गर्नुपर्ने उनीहरूको माग छ।

ध्यानाकर्षण पत्रमा भनिएको छ, “स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र योजना तथा बजेट तर्जुमा मार्गनिर्देशन, २०७८ अनुसार तेस्रो र चौथो चरणमा सहभागीता र पारदर्शिता सुनिश्चित गर्दै लक्षित वर्गको प्रस्तावित योजनाहरू प्राथमिकता प्राप्त गर्नुपर्छ।”

संघसंस्थाहरूले स्थानीय सरकारसँग समन्वय गर्दै आएका विभिन्न प्रयासहरूको उल्लेख गर्दै सामाजिक न्याय, समावेशिता र लैङ्गिक समानताको लक्ष्य प्राप्तिमा सहकार्यलाई अझ सशक्त बनाउने अपेक्षा व्यक्त गरेका छन ।

प्रतिक्रिया