प्रअ झामाथि भएको आक्रमण समग्र विद्यालय र शिक्षामाथिकै प्रहार हो : कमलेश्वर सिन्हा

trinetraexpress

सर्लाही,बलरा। सर्लाहीको बलरा नगरपालिका-४ स्थित श्री रामसखी मोहित सिंह जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक विरेन्द्र झामाथि भएको कुटपिट तथा अभद्र व्यवहारलाई विद्यालयको जग्गादाता परिवारले समग्र विद्यालय, शिक्षा र शैक्षिक मर्यादामाथिको प्रहारका रूपमा लिएको छ।


विद्यालयको जग्गादाता परिवारका सदस्य कमलेश्वर सिन्हाले प्रधानाध्यापक झामाथि भएको घटनाप्रति गम्भीर दुःख व्यक्त गर्दै विद्यालयमा अनुशासन कायम गर्ने र शिक्षण–सिकाइ क्रियाकलापलाई प्रभावकारी बनाउने क्रममा प्रधानाध्यापकले आवश्यक कडाइ गर्नु स्वाभाविक र जिम्मेवारीभित्र पर्ने बताएका छन्।


उनले विद्यालय प्रशासन तथा शिक्षण–सिकाइ क्रियाकलापमा समय–समयमा कमी–कमजोरी देखिन सक्ने भए पनि त्यस्ता कमजोरी सुधार गरी विद्यालयलाई सही मार्गमा ल्याउने जिम्मेवारी प्रधानाध्यापकको हुने बताए।


“विद्यालयमा कहिलेकाहीँ अनुशासन र शिक्षण–सिकाइमा गिरावट आउन सक्छ। यस्तो अवस्थामा प्रधानाध्यापकले आवश्यक कडाइ गर्दै विद्यालयलाई पुनः सही ट्र्याकमा ल्याउनु उहाँको कर्तव्य हो,” सिन्हाले भने।


उनका अनुसार विद्यालयमा ड्रेस, अनुशासन तथा शिक्षण–सिकाइ क्रियाकलापलाई व्यवस्थित बनाउन कडाइ गरिएका बेला शिक्षक तथा प्रधानाध्यापकमाथि नै प्रहार हुने घटना चिन्ताजनक छ।


यसअघि शिक्षक सुबोध सिंहमाथि अभिभावकबाट भएको प्रहार र अहिले प्रधानाध्यापक वीरेन्द्र झामाथि विद्यार्थीबाट भएको कुटपिटमा पनि विद्यालयमा अनुशासन तथा शिक्षण–सिकाइमा कडाइ गरिएको विषय जोडिएको उनले बताए।


“विद्यालयमा राम्रो पढाइ, अनुशासन र व्यवस्थित वातावरण कायम गर्ने प्रयास हुँदा त्यसलाई सहयोग गर्नुको सट्टा शिक्षक तथा प्रधानाध्यापकमाथि प्रहार हुनु अत्यन्त दुःखद विषय हो,” उनले भने।


सिन्हाले विद्यालयलाई केवल सरकारी संस्थाको रूपमा मात्र नहेर्न आग्रह गर्दै यो स्थानीय समुदायको प्रतिष्ठा, गौरव र भावी पुस्ताको भविष्य निर्माण गर्ने महत्वपूर्ण संस्था भएको बताए।


“विद्यालय हाम्रो प्रतिष्ठा हो, हाम्रो गौरव हो र हाम्रो धरोहर पनि हो। यही विद्यालयले हाम्रा बालबालिकाको भविष्य निर्माण गर्छ। त्यसैले विद्यालय र गुरुहरूमाथि हुने अपमान तथा हिंसाप्रति समाज गम्भीर हुनुपर्छ,” उनले भने।


उनले आफ्ना घर–परिवार र व्यक्तिगत जीवनबाट समय निकालेर बालबालिकाको भविष्य निर्माणमा लागेका शिक्षकलाई केवल बेतनभोगी कर्मचारीका रूपमा हेर्न नहुने धारणा राखे।


कुनै शिक्षक वा प्रधानाध्यापकको कार्यप्रति असहमति वा गुनासो भए कानुनी तथा संस्थागत माध्यमबाट समाधान खोज्नुपर्ने भन्दै उनले हिंसा कुनै पनि समस्याको समाधान हुन नसक्ने बताए।


“गल्ती भएको छ भने छानबिन हुनुपर्छ, प्रश्न उठाउनुपर्छ र आवश्यक कारबाहीको प्रक्रिया अघि बढाउनुपर्छ। तर कसैलाई कुटपिट गर्नु र अमानवीय व्यवहार गर्नु स्वीकार्य हुन सक्दैन,” सिन्हाले भने।


उनले अभिभावक तथा सरोकारवालालाई पूर्वाग्रहभन्दा माथि उठेर घटनालाई निष्पक्ष ढंगले मूल्यांकन गर्न आग्रह गरेका छन्।


विद्यालयको विकास र स्तरोन्नतिका लागि विगतमा गरिएको प्रयास स्मरण गर्दै सिन्हाले प्राथमिक तहको विद्यालयलाई +२ तहसम्म पुर्‍याउने अभियानमा स्थानीय समुदाय र विभिन्न सहयोगी व्यक्तिहरूको योगदान रहेको बताए।


विद्यालयलाई भविष्यमा अझ उच्च तहसम्म विस्तार गर्ने सपना रहेको उल्लेख गर्दै उनले विद्यालयमा हिंसा र अराजकता बढ्दै जानु दुःखद भएको बताए।


“हामीले विद्यालयलाई विकास गरेर बालबालिकालाई राम्रो भविष्य दिने उद्देश्य राखेका हौँ। तर आज शिक्षक र प्रधानाध्यापक नै असुरक्षित हुने अवस्था सिर्जना हुनु सबैका लागि गम्भीर चिन्ताको विषय हो,” उनले भने।


सिन्हाले विद्यालयभित्र उत्पन्न कुनै पनि विवादलाई संवाद, छलफल र कानुनी प्रक्रियामार्फत समाधान गर्नुपर्नेमा जोड दिँदै विद्यालयको शैक्षिक वातावरण र मर्यादा जोगाउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताएका छन्।


उनले भने, “आज हामीले विद्यालय, शिक्षक र शिक्षाको सम्मान जोगाउन सकेनौँ भने भोलि हाम्रा बालबालिकाको भविष्य कस्तो हुन्छ भन्ने विषयमा सबैले गम्भीर भएर सोच्नुपर्ने समय आएको छ।”

प्रतिक्रिया