सर्लाही, जेठ २५, सर्लाही जिल्लामा शान्ति सुरक्षाको अवस्थालाई खल्बल्याउने उद्देश्यले प्रहरीले निर्दोष व्यक्तिहरूमाथि झुटा मुद्दा दर्ता गरेको भन्दै पाँच प्रमुख राजनीतिक दलहरूले संयुक्त विरोध जनाएका छन्।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), जसपा नेपाल र नेपाल समाजवादी पार्टी (नेसपा) का जिल्ला तथा प्रदेश नेताहरूको हस्ताक्षरसहित जारी गरिएको संयुक्त प्रेस विज्ञप्तिमा पछिल्ला दिनमा बिचौलियाहरूको इसारामा प्रहरीले असहाय नागरिकमाथि मुद्दा चलाएको आरोप लगाइएको छ।
विज्ञप्तिमा भनिएको छ, “जिल्लाको शान्ति सुरक्षा खलबल्याउने तथा राजनीतिकरण गर्ने उद्देश्यले निर्दोषहरूमाथि झुटा मुद्दा दर्ता गरिएको छ, जुन कार्यप्रति हामी गम्भीर ध्यानाकर्षण गराउँछौं र खेद व्यक्त गर्छौं।”
नेताहरूले झुटा मुद्दा फिर्ता लिन र पक्राउ परेका व्यक्तिहरूलाई अविलम्ब रिहा गर्न माग गरेका छन्। साथै, यदि माग सम्बोधन नभएमा प्रहरी प्रशासनको ज्यादतीविरुद्ध संघर्षमा जान बाध्य हुने चेतावनी पनि दिएका छन्।
प्रेस विज्ञप्तिमा हस्ताक्षर गर्ने नेताहरूमा नेकपा एमाले मधेश प्रदेश सदस्य सुरेश कुमार साह, नेकपा माओवादी केन्द्र मधेश प्रदेश सदस्य शिव पुजन राय, जसपा जिल्ला अध्यक्ष शम्भु प्रसाद यादव, जसपा नेपाल जिल्ला संयोजक विजय कुमार यादव र नेसपा जिल्ला अध्यक्ष विरेन्द्र कुमार राय रहेका छन्।
प्रेस विज्ञप्तिको अन्त्यमा “लाल सलाम” भन्दै सबैले संयुक्त आन्दोलनको चेतावनी दिएका छन्।