सर्लाही, चक्रघट्टा — चक्रघट्टा गाउँपालिका–५, पडरिया स्थित खेलमैदानमा सञ्चालन भएको पडरिया प्रिमियर लिग (PPL) को पहिलो सिजन सफलतापूर्वक सम्पन्न भएको छ।
आज सम्पन्न फाइनल खेलमा जमुनिया टिमले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्न सफल भयो भने आयोजक पडरिया टिम उपविजेतामा सीमित रह्यो। वैशाख ११ गतेदेखि सुरु भएको प्रतियोगितामा विभिन्न टिमहरूबीच प्रतिस्पर्धात्मक खेलहरू सम्पन्न हुँदै अन्ततः जमुनिया र पडरिया बीचको फाइनल खेल खेलेको हो।
फाइनल खेलपछि आयोजित पुरस्कार वितरण कार्यक्रममा विजेता जमुनिया टिमलाई नगद रु. ३१,००० सहित कप, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो। त्यसैगरी, उपविजेता पडरिया टिमलाई नगद रु. १५,००० सहित कप, मेडल तथा प्रमाणपत्र प्रदान गरियो।
कार्यक्रमका प्रमुख अतिथि चक्रघट्टा गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष नागेन्द्रप्रसाद शाहले खेलकुदले युवाहरूलाई अनुशासित, सक्रिय र एकताबद्ध बनाउने उल्लेख गर्दै यस्ता प्रतियोगिताहरूलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।
त्यसैगरी, जनशक्ति युवा क्लबका अध्यक्ष धिरेन्द्र ठाकुरले स्थानीय स्तरमा खेलकुद विकास तथा युवाहरूलाई सकारात्मक दिशातर्फ उन्मुख गराउन यस्ता कार्यक्रमहरूको महत्वपूर्ण भूमिका रहने बताउनुभयो। उहाँले क्लब सधैं यस्ता रचनात्मक गतिविधिमा अग्रसर रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
उक्त प्रतियोगितामा जनशक्ति युवा क्लब मुख्य प्रायोजकको रूपमा रहेको थियो भने विभिन्न व्यक्तिहरू तथा सहयोगीहरूबाट आर्थिक सहयोग प्राप्त भएको आयोजकले जनाएको छ। प्रतियोगिताको दौरान सहयोग पुर्याउने व्यक्तिहरूलाई सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो।
कार्यक्रमको संयोजन तथा व्यवस्थापन मनोज चौधरीले गर्नुभएको थियो।
आयोजकका अनुसार पहिलो सिजनको सफलतापछि आगामी दिनहरूमा अझ व्यवस्थित रूपमा दोस्रो सिजन आयोजना गरिने योजना रहेको छ। यस प्रतियोगिताले स्थानीय स्तरमा खेलकुद विकास, युवा सहभागिता तथा सामुदायिक एकता सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्याएको विश्वास गरिएको छ।