मलंगवामा ‘बज्जिका नगर’को नामकरण, साहित्यिक गतिविधि र पत्रिका विमोचन

newsdesk

सर्लाहीको मलंगवा नगरपालिका–८ अन्तर्गत रिंग रोड हुलाकी सडकमा अवस्थित पद्मरत्न विद्या मन्दिर स्कुलदेखि पूर्वतर्फको बस्तीलाई औपचारिक रूपमा ‘बज्जिका नगर’ नामाकरण गरिएको छ। शुक्रबार आयोजित विशेष समारोहमा बज्जिका साहित्य समाज सर्लाहीका सचिव मुकेश कुमार मिश्रको अध्यक्षता र वडा अध्यक्ष मुकेश जयसवालको प्रमुख आतिथ्यतामा टोलको नामांकन तथा उद्घाटन सम्पन्न भयो।


कार्यक्रममा बज्जिका साहित्य समाज सर्लाहीका अध्यक्ष रामचन्द्र महतो कुशवाहा, भारत बिहार सितामढीका कवि कमरुदिन नदाफ, इन्द्रा कुशवाहा, कवियत्री ललिता देवी कुशवाहा, इन्जिनियर शिवशंकर साह रौनियार, नागरिक समाज सर्लाहीका महासचिव शिवचन्द्र चौधरी, बाल कल्याण समाजका अध्यक्ष सुन्दर श्याम यादवलगायत साहित्यकार, पत्रकार तथा स्थानीयको सहभागिता थियो।


सोही अवसरमा मलंगवाबाट पत्रकार मनोज यादवको प्रकाशन तथा विजय कुमार यादवको सम्पादनमा प्रकाशित ‘मधेश दूत राष्ट्रिय दैनिक’ पत्रिकाको विमोचन पनि गरियो। पत्रिकामा बज्जिका भाषाका साहित्यकार र साहित्यिक गतिविधिका लागि छुट्याइएको पृष्ठको उपस्थित अतिथिहरुले प्रशंसा गर्दै प्रकाशक यादवलाई धन्यवाद ज्ञापन गरे।


वडा अध्यक्ष जयसवालले बज्जिका नगरको नामकरणलाई भाषिक र सांस्कृतिक पहिचानको संरक्षणतर्फको महत्वपूर्ण कदम भन्दै प्रशंसा गरे। उनले नगरको समग्र विकासका लागि वडा तथा व्यक्तिगत स्तरबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।


प्रतिक्रिया