बरहथवामा विद्युत् समस्या चुलिँदै, जनमत पार्टीद्वारा नेपाल विद्युत प्राधिकरणलाई ज्ञापन पत्र बुझाइयो

newsdesk

बरहथवा, सर्लाही – बरहथवा नगरपालिकामा लामो समयदेखि विद्युत आपूर्ति अनियमित भएपछि जनजीवन कष्टकर बनेको भन्दै जनमत पार्टी, बरहथवा नगरपालिकाले नेपाल विद्युत प्राधिकरण, बरहथवा शाखालाई ज्ञापन पत्र बुझाएको छ।

गर्मी मौसममा बारम्बार बत्ती जाने समस्या तीव्र बनेपछि स्थानीयवासीहरू आक्रोशित भएका छन्। सोही विषयमा जनताको गुनासोको प्रतिनिधित्व गर्दै जनमत पार्टीका प्रतिनिधिमण्डलले विद्युत प्राधिकरण बरहथवा शाखा प्रमुख अञ्जली यादवलाई ज्ञापन पत्र बुझाएका हुन्।


ज्ञापन पत्रमार्फत जनमत पार्टीले २४ सै घण्टा नियमित र भरपर्दो विद्युत सेवा सुनिश्चित गर्न माग गरेको छ। साथै, आइतबारसम्म विद्युत आपूर्तिमा सुधार नआए सोमबारदेखि शान्तिपूर्ण तर सशक्त आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ।


जनमत पार्टीका नगर अध्यक्षको नेतृत्वमा बुझाइएको उक्त ज्ञापनमा विद्युत अवरोधका कारण स्थानीय उद्योग, पठनपाठन, स्वास्थ्य सेवा, कृषि र दैनिक जनजीवनमा गम्भीर असर परेको उल्लेख गरिएको छ।


“गर्मीमा पटक–पटक बत्ती जानु ले स्थानीय जनतालाई दैनिक रूपमा हैरानी हुने गरेको छ। यस समस्याको यथाशीघ्र समाधान नगरिए आन्दोलनमा जान बाध्य हुनेछौं,” ज्ञापन पत्रमा भनिएको छ।


यसअघि पनि स्थानीयवासीहरूले सामाजिक सञ्जालमार्फत विद्युत अवरोधप्रति गुनासो व्यक्त गर्दै आएका थिए। जनमत पार्टीले भने यस मुद्दालाई संस्थागत रूपमा उठाउँदै समस्या समाधानका लागि दबाब दिने जनाएको छ।


प्रतिक्रिया