रौतहटमा ‘प्रेस’ लेखिएका सवारी साधनमा प्रतिबन्ध, दुरुपयोग रोक्न पत्रकार महासंघको निर्णय

newsdesk

रौतहट – नेपाल पत्रकार महासंघ रौतहट शाखाले जिल्लाभर सञ्चालनमा रहेका ‘प्रेस’ लेखिएका सवारी साधनमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ।

महासंघको आज बसेको बैठकले सञ्चारमाध्यमको नाममा खरिद नभएका कुनै पनि सवारी साधनमा ‘प्रेस’ लेख्न नपाइने निर्णय गरेको हो। बैठकले सवारी खरिद भएको खण्डमा मात्र सम्बन्धित मिडिया हाउसको नाम उल्लेख गर्न सकिने व्यवस्था गर्ने निर्णय गरेको जनाएको छ।

विशेष आपतकालीन अवस्था, निषेधाज्ञा वा कर्फ्यूको समयमा मात्र ‘प्रेस’ लेखिएका सवारी साधन प्रयोग गर्न पाइने व्यवस्था रहने महासंघले स्पष्ट पारेको छ।

जिल्लामा पछिल्ला दिनहरूमा ‘प्रेस’ लेखिएका सवारी साधनको व्यापक दुरुपयोग भइरहेको भन्दै यसलाई तत्काल नियन्त्रण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गर्ने निर्णय पनि बैठकले गरेको छ। साथै ‘प्रेस’ लेखिएका सवारी साधनहरूको गहन छानबिन र चेकजाँच गर्न समेत सम्बन्धित प्रशासनलाई आग्रह गरिएको छ।

महासंघले सञ्चारकर्मी, सञ्चार गृह तथा सरोकारवालाहरूमाझ ‘प्रेस’ शब्दको दुरुपयोग नगरी पत्रकारिताको गरिमा कायम राख्न आग्रह गरेको छ।

प्रतिक्रिया