सर्लाही — बलरा नगरपालिका प्रमुख रामाशंकर प्रसाद कुशवाहाले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी राजनीतिक संवाद गरेका छन्।
भेटमा देशको वर्तमान अवस्था, राजनीतिक परिवेश, संघीय लोकतान्त्रिक गणतन्त्रको भावी दिशा तथा मधेसप्रतिको आत्मीय भावना र समावेशीकरणबारे विस्तृत छलफल भएको नगरप्रमुख कुशवाहाले जानकारी दिए। उनले प्रचण्डलाई “देशप्रेमी, दूरदर्शी र समावेशी भावनायुक्त युगपुरुष”को रुपमा स्मरण गर्दै भेटबाट नयाँ ऊर्जा र प्रेरणा प्राप्त भएको अनुभव व्यक्त गरे।
सोही अवसरमा बलरा निवासी युवा नेता अनिल कुमार सिंह नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन्। नगरप्रमुख कुशवाहाले सिंहलाई पार्टी प्रवेशको अवसरमा स्वागत गर्दै उनको सक्रियताले संगठन थप सबल हुने विश्वास व्यक्त गरे।
नगरप्रमुख कुशवाहाले भेटलाई ऐतिहासिक तथा अविस्मरणीय बताउँदै भने, “प्रचण्डको नेतृत्वमा कार्यकर्तामा उत्साह, जनतामा विश्वास र अन्तर्राष्ट्रिय क्षेत्रमा सन्तुलन कायम हुनेछ भन्ने दृढ विश्वास लिएको छु।”