चन्द्रनगरमा पहिलोपटक रक्तदान कार्यक्रम : ६० जनाले गरे स्वेच्छिक रक्तदान

newsdesk

सर्लाही, २५ वैशाख – सर्लाहीको चन्द्रनगर गाउँपालिकामा पहिलोपटक आयोजित वृहत खुला रक्तदान कार्यक्रममा ६० जनाले स्वेच्छिक रक्तदान गरेका छन्। “सेवा नै धर्म हो, रक्तदान जीवनदान, महादान” भन्ने मुल नाराका साथ आयोजित कार्यक्रममा ११ जना महिला र ४९ जना पुरुषले रक्तदान गरेका हुन्।

नेपाल रेडक्रस सोसाइटी चन्द्रनगर उपशाखा तथा चन्द्रनगर गाउँपालिकाको आयोजनामा र नेपाल शिक्षक महासंघको सहकार्यमा आयोजित उक्त कार्यक्रम विश्व रेडक्रस दिवसको अवसर पारेर गरिएको हो।

नेपाल रेडक्रस सोसाइटी चन्द्रनगर उपशाखाका सभापति सरोज सिंहका अनुसार चन्द्रनगर गाउँपालिकामा पहिलोपटक यस्तो वृहत रक्तदान कार्यक्रम आयोजना गरिएको हो। “यो गाउँपालिकामै ऐतिहासिक कार्यक्रम हो, रगत संकलन गरेर मानवीय सेवामा योगदान दिने उद्देश्यले आयोजना गरिएको हो,” उहाँले भन्नुभयो।

कार्यक्रमको सुरुवात वडा नं. २ का स्थानीय राजकुमार महतोले रक्तदान गरेर गर्नुभएको थियो। त्यसपछि क्रमशः जनप्रतिनिधि, कर्मचारी, शिक्षक, पत्रकार, सुरक्षाकर्मी तथा स्थानीयवासीहरूले रक्तदान गरेका थिए।

रक्तदानमा योगदान गर्ने पाँच जना पत्रकारसहित विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतोले उद्घाटन गर्नुभएको थियो।

उद्घाटन सत्रमा सम्बोधन गर्दै अध्यक्ष महतोले ग्रामीण भेगमा ६० जनाले रक्तदान गर्नु ठूलो उपलब्धि भएको बताउँदै, गाउँपालिकामा रहेका झण्डै ६ सय रेडक्रस सदस्यलाई यस्ता मानवीय कार्यमा सक्रिय सहभागी गराउनुपर्नेमा जोड दिनुभयो।

सो अवसरमा नेपाल रेडक्रस सोसाइटी सर्लाही शाखाका अधिकृत रामकिशोर पण्डित, उपसभापति शेख शाहदुल्ला, विभिन्न जनप्रतिनिधि, सुरक्षाकर्मी र सञ्चारकर्मीहरूको समेत उपस्थिति रहेको थियो।


प्रतिक्रिया