सर्लाहीको बरहथवा नगरपालिकाको पहलमा आयोजित लैङ्गिक समानता मेला–२०२५ (Gender Equality Carnival) अन्तर्राष्ट्रिय स्तरमा मनाइने १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियानअन्तर्गत विशेष कार्यक्रमका रूपमा सम्पन्न भएको छ।
“प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ” भन्ने मुख्य संदेशसहित आयोजना गरिएको मेलाले स्थानीय तहमा लैङ्गिक समानता र सुरक्षित समाज निर्माणका लागि व्यापक जनचेतना फैलाएको छ।
मेलामा महिला, पुरुष, किशोरी–किशोर, दलित समुदाय, अपांगता भएका व्यक्ति तथा विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधिहरूको उत्साहपूर्ण सहभागीता भएको थियो। सहभागीहरूले प्रविधिको सुरक्षित प्रयोग, साइबर हिंसा रोकथाम, आत्म–सुरक्षाका उपायहरू तथा समुदायले खेल्नुपर्ने सहयोगी भूमिकाबारे विचार आदान–प्रदान गर्दै व्यवहारिक सुझावहरू पनि प्रस्तुत गरे।
मेलाको मुख्य आकर्षणमध्ये रहेको नृत्य र नाटक प्रस्तुतिले लैङ्गिक समानता र हिंसाविरुद्धको सन्देशलाई कलात्मक ढङ्गले प्रस्तुत गर्दै जन–चेतनामा प्रभावकारी योगदान पुर्याएको थियो।
त्यसैगरी स्थानीय समुदाय, विद्यालयका बालबालिका, सामाजिक अभियन्ता, सहकर्मी साझेदार तथा विभिन्न संघ–संस्थाहरूको सक्रिय उपस्थितिले लैङ्गिक असमानता अन्त्य र हिंसामुक्त समाज निर्माणतर्फको सामुदायिक प्रतिबद्धतालाई अझ मजबुत बनाएको आयोजकले जनाएका छन्।