सर्लाही, २०८२ जेठ १२ –सर्लाही जिल्लाको बसवरिया गाउँपालिका–६ मनटोलमा आज दिउँसो भएको सवारी दुर्घटनामा परी एक वृद्धाको मृत्यु भएको छ।
मंगलबार दिउँसो करिब १:१० बजेको समयमा घरकै आँगनमा माटो पुर्ने क्रममा ज.१ त. ९५६४ नम्बरको ट्रयाक्टरले ठक्कर दिँदा ६५ वर्षीया अमिरी पासवानको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
ट्रयाक्टरमा जडान गरिएको टेलरको पछाडिको भाग ब्याक गर्ने क्रममा टाउकोमा गम्भीर चोट लागेर पासवानको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। दुर्घटनापछि ट्रयाक्टर चालक फरार भएका छन् भने ट्रयाक्टरलाई घटनास्थलमै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय हिरापुरबाट प्रहरी निरीक्षक बैजनाथ दासको कमाण्डमा ५ जना प्रहरी टोली र बरहथवा प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक दिवाकर गणेशको कमाण्डमा SOCO टोलीसहित ७ जना खटिइ घटनास्थलमा पुगेको थियो।
हाल घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।