मलंगवा, सर्लाही । जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेशका अध्यक्ष एवं पूर्व प्रदेशसभा सदस्य अशोक यादवविरुद्ध सर्लाही प्रहरीले दायर गरेको जाहेरीको विरोधमा आज पुनः प्रदर्शन गरिएको छ।
शुक्रबार साँझ सदरमुकाम मलंगवामा मसाल जुलुस सहित प्रदर्शन गरिएको हो। जसपा सर्लाहीको आयोजनामा गरिएको प्रदर्शनमा सहभागीहरूले नेता यादवमाथि लगाइएको मुद्दा राजनीतिक प्रतिशोधबाट प्रेरित रहेको आरोप लगाउँदै तत्काल फिर्ता लिन माग गरेका छन्।
प्रदर्शनकारीहरूले हातमा मसाल बोकी नाराबाजी गर्दै मुख्य बजार परिक्रमा गरेका थिए। उनीहरूले “झुठा मुद्दा खारेज गर”, “राजनीतिक प्रतिशोध बन्द गर”, “नेता यादवको रिहाइ गर” लगायतका नाराहरू लगाएका थिए।
जसपा सर्लाहीका अध्यक्ष शम्भुप्रसाद यादवले प्रहरी प्रशासनले झुठो मुद्दा फिर्ता नगरे शनिबारदेखि आइतबारसम्म दुई दिन मलंगवा बजार पूर्ण रूपमा बन्द गरिने र सार्वजनिक यातायातसमेत ठप्प पारिने चेतावनी दिएका छन्।
यसअघि पनि गत शनिबार, जसपाले अध्यक्ष यादवको समर्थनमा मलंगवामा प्रदर्शन गरेको थियो।
सर्लाही प्रहरीले भने यादवविरुद्ध अपराधिक उपद्रव सम्बन्धी जाहेरी दर्ता गरी पक्राउ पुर्जी जारी गरेको जनाएको छ। असार १९ गते बिहीबार राति जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी योगेन्द्रकुमार खड्का र नेता यादवबीच टेलिफोन संवादमा गालीगलौज भएको थियो। त्यसपछि शुक्रबार दिउँसो प्रहरीले अदालतमा जाहेरी दिएर पक्राउ पुर्जी लिएको हो।
प्रहरी प्रशासन र राजनीतिक दलबीच चर्किंदो तनावसँगै अबको आन्दोलनले सर्लाहीको जनजीवन प्रभावित पार्न सक्ने संकेत देखिएको छ।
२६ असार २०८२, शुक्रबार १०:०७ मा प्रकाशित