नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंहले दिए राजीनामा

newsdesk

सर्लाही, भदौ ६। नेपाली कांग्रेस सर्लाही जिल्ला कार्यसमितिका सभापति सुरेन्द्र प्रसाद सिंहले पदबाट राजीनामा दिएका छन्। उनले शुक्रबार (२०८२ भदौ ६ गते) पार्टी केन्द्रीय कार्यालयमा पत्र पठाउँदै सभापतिको जिम्मेवारीबाट अलग हुने घोषणा गरेका हुन्।

सिंहले करिब ३ दशकदेखि  नेपाली कांग्रेसमा सक्रिय भएर काम गर्दै आएको उल्लेख गर्दै पछिल्लो पटक २०७८ साल फागुन २९ गते जिल्ला सभापतिमा निर्वाचित भई निरन्तर पार्टीप्रति योगदान दिइरहेको स्मरण गराएका छन्। 

उनले अदालतको हालैको फैसलापछि आफू निरन्तर सभापतिको जिम्मेवारीमा रहन नसक्ने भन्दै केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा राजीनामा पत्र बुझाएका हुन्।

पछिल्ला परिस्थितिमा व्यक्तिगत रूपमा जिम्मेवारी बहन गर्न कठिन भएको भन्दै उनले सभापति पदबाट राजीनामा दिएको पत्रमार्फत् स्पष्ट पारेका छन्।

सिंहले २०५६ सालमा तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाबाट सदस्यता लिएदेखि निरन्तर पार्टीप्रति समर्पित भएर काम गर्दै आएको उल्लेख गरेका छन्। उनले दुई कार्यकालसम्म जिल्ला कार्यसमितिको उपसभापति भई २०७८ साल फागुन २९ गतेदेखि सभापतिको जिम्मेवारी सम्हालेका थिए।

तर पछिल्लो पटक आफूमाथि परेको मुद्दामा अदालतले गरेको निर्णयप्रति असन्तुष्टि जनाउँदै सिंहले भनेका छन्, “अदालतको निर्णय मान्ने मेरो कर्तव्य हो, तर उक्त निर्णयले मलाई अन्याय भएको ठहर छ। म न्यायिक लडाइँ लडिरहनेछु, साथै राजनीतिक लडाइँ पनि जारी नै रहनेछ।”

उनले नियम, कानुन र पार्टीको बृहत्तर हितलाई ध्यानमा राखी सभापतिको पदबाट अलग भएको स्पष्ट पारेका छन्। यद्यपि, राजीनामापछि पनि पार्टीप्रतिको आफ्नो निष्ठा अविचलित रहने भन्दै उनले भनेका छन्, “म नेपाली कांग्रेसको सर्वोत्तम हितलाई सर्वोपरी ठानी निरन्तर पार्टीको बृहत्तर हित र लोकतन्त्र रक्षार्थ आफ्नो भूमिका निर्वाह गरिरहनेछु।”

“राजनीतिक रूपमा म अझै पनि नेपाली कांग्रेसकै आदर्शप्रति निष्ठावान् छु र रहिरहनेछु। तर, पार्टीको आधिकारिक जिम्मेवारीमा भने म अघि बढ्न सक्दिन,” पत्रमा सिंहले भनेका छन्।

राजीनामापछि पनि नेपाली कांग्रेसको हित, पार्टीको सिद्धान्त र लोकतान्त्रिक मूल्य रक्षामा आफू निरन्तर भूमिका निर्वाह गर्ने उल्लेख गर्दै सिंहले विभिन्न तहका साथीहरूलाई सहयोग र समर्थनका लागि धन्यवाद दिएका छन्।



प्रतिक्रिया