सर्लाही। निजी अश्लील भिडियोको दुरुपयोग गर्दै एक महिलालाई ब्ल्याकमेलिङ गरी ५० हजार रुपैयाँ माग गरेको आरोपमा सर्लाही प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सर्लाहीको बसबरिया गाउँपालिका–३ निवासी शिव चरण मुखिया रहेका छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार चिनजान तथा नातासम्बन्धको आधारमा विश्वासमा पारी उनले एक महिलासँग ह्वाट्सएपमार्फत पटक–पटक भिडियो कल गरी अश्लील संवाद गर्ने र त्यस क्रममा भिडियो रेकर्ड गर्ने गरेको आरोप छ।
प्रहरीमा परेको जाहेरीअनुसार मुखियाले विभिन्न दबाब तथा धम्की दिएर महिलालाई आफ्नो शरीरका कपडा हटाउन बाध्य बनाएको र त्यस क्रममा अश्लील भिडियो तथा तस्बिर रेकर्ड गरी आफ्नो मोबाइलमा सुरक्षित राखेका थिए। ती सामग्री पीडित महिला तथा उनका आफन्तलाई समेत पठाएको जाहेरीमा उल्लेख छ।
आरोपितले उक्त तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरिदिने र पीडितका परिवार तथा आफन्तलाई पठाइदिने धम्की दिँदै ५० हजार रुपैयाँ माग गरेको प्रहरीको भनाइ छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मुखियालाई विद्युतीय कारोबार ऐनअन्तर्गत साइबर अपराधसम्बन्धी कसुरमा अनुसन्धान गर्न सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद लिएर हिरासतमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले निजी तथा अश्लील तस्बिर र भिडियोको दुरुपयोग गरी धम्की दिने, रकम माग गर्ने तथा त्यस्ता सामग्री सार्वजनिक गर्ने कार्यलाई गम्भीर साइबर अपराधका रूपमा लिँदै आएको जनाएको छ।
यस्ता घटनामा ह्वाट्सएप च्याट, फोन नम्बर, कल विवरण, तस्बिर, भिडियो तथा अडियोलगायत डिजिटल प्रमाण सुरक्षित राख्न प्रहरीले आग्रह गरेको छ। साथै, कसैको निजी तस्बिर वा भिडियो प्राप्त भएमा त्यसलाई सेयर, फर्वार्ड वा सार्वजनिक नगर्न र पीडितले धम्कीसम्बन्धी प्रमाण सुरक्षित राखी तत्काल प्रहरीलाई जानकारी गराउन अनुरोध गरेको छ।