गोली हानी हत्या गरेको आरोपमा १८ वर्षपछि फरार प्रतिवादी पक्राउ

trinetraexpress


सर्लाही — गोली हानी एक व्यक्तिको हत्या गरेको घटनामा संलग्न रहेको आरोपमा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले करिब १८ वर्षपछि पक्राउ गरेको छ।


पक्राउ पर्नेमा धनुषाको कपटोल स्थायी ठेगाना भई सर्लाहीको साविक नेत्रगञ्ज गाविस–२ तथा हाल लालबन्दी नगरपालिका–२ बस्दै आएका इन्दल पासवान रहेका छन्।


जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार २०६५ फागुन १२ गते दिउँसो चिताइन मेला हेर्न घरबाट निस्किएका साविक नेत्रगञ्ज गाविस–२ का वीरेन पासवान राति करिब १० बजे सोही स्थानको खाली जग्गामा छातीमा गोली लागेको अवस्थामा मृत फेला परेका थिए।


घटनाको अनुसन्धानका क्रममा वीरेनको हत्यामा इन्दल पासवानसहित अन्य व्यक्तिको संलग्नता रहेको खुलेपछि उनीहरू घटनापछि नै फरार रहेको प्रहरीले जनाएको छ।


फरार रहेका इन्दललाई इलाका प्रहरी कार्यालय लालबन्दी र नवलपुरसँगको समन्वयमा प्रहरीले लालबन्दी नगरपालिका–२ बाट पक्राउ गरेको हो। उनलाई इलाका प्रहरी कार्यालय हरिपुरमा अनुसन्धान गरी जिल्ला अदालत सर्लाहीमा पेस गरिएको थियो।


अदालतको आदेशअनुसार २०८३ असोज १३ गते उनलाई पुर्पक्षका लागि सर्लाही कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।


प्रहरीका अनुसार पासवान यसअघि पनि हातहतियार तथा खरखजाना मुद्दामा महोत्तरी जिल्ला अदालतबाट दोषी ठहर भई ६ वर्ष कैद र ६० हजार रुपैयाँ जरिवाना भुक्तान गरिसकेका व्यक्ति हुन्। त्यस्तै, उनीविरुद्ध महोत्तरी र धनुषामा चोरी तथा डाँका मुद्दासमेत चलेको प्रहरीले जनाएको छ।


जिल्ला प्रहरी कार्यालय सर्लाहीले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा फरार प्रतिवादी पक्राउसम्बन्धी उक्त विवरण सार्वजनिक गरेको हो।

प्रतिक्रिया