एक निर्भीक कलमको अन्त्य: पत्रकार फणीदेव महतको असामयिक बिदाइ

newsdesk

रौतहट, ३१ वैशाख। आज रौतहटको पत्रकारिता क्षेत्र गहिरो शोकमा डुबेको छ। समाज परिवर्तनमा अग्रणी भूमिका निर्वाह गर्दै आएका एक निडर, निर्भीक र साहसी पत्रकार– फणीदेव महत–को असामयिक निधनले सम्पूर्ण पत्रकारिता जगतलाई स्तब्ध बनाएको छ।

प्रिन्ट मिडिया, रेडियो तथा अनलाइन प्लेटफर्महरूमार्फत आफ्नो धारदार कलमद्वारा राज्यसामु सत्य उजागर गर्दै आएका महतको कलम आज सधैँका लागि थामिएको छ। लामो समयदेखि ब्रेन ट्युमरबाट पीडित रहँदै आएका पत्रकार महत ज्यानको जंगमा पराजित भई गएराति यस माया र संवेदनाले भरिएको संसारबाट विदा भए।

नेपाल र भारतका विभिन्न अस्पतालमा उपचार गरिए तापनि ४६ वर्षीय महतको जीवन जोगाउन सकिएन। उनको उपचारमा स्थानीय समुदायदेखि परोपकारी संघसंस्थासम्मको उल्लेखनीय सहयोग रहे पनि त्यो पर्याप्त हुन सकेन।

पत्रकार महत अन्नपूर्ण पोस्टका रौतहट संवाददाता, रेडियो सुप्रिमका सञ्चालक र कलमपाटी डटकमका संस्थापक थिए। उनी प्रेस चौतारी नेपालसँग आबद्ध थिए र मधेश प्रदेशस्तरको नेतृत्व समेत सम्हालेका थिए।

उहाँको निधनले पत्नी र दुई नाबालक छोरासहित सम्पूर्ण पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुर्‍याएको छ।

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष सञ्जयकुमार कार्कीले भनेका छन्, "रौतहटको पत्रकारिता क्षेत्रमा एक प्रखर वक्ता, स्तम्भकार एवं दम्भ भएका कलमजीवी हामीबाट टाढा भएका छन्, जुन क्षति केवल रौतहटकै होइन, समग्र देशकै पत्रकारिता क्षेत्रका लागि अपूरणीय हो।"

नेपाल पत्रकार महासंघलगायत विभिन्न संघसंस्थाले शोक वक्तव्य जारी गर्दै दिवंगत पत्रकार महतप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

रौतहटको पत्रकारितामा एक युगको अन्त्य भएको छ। महतको स्थान पूर्ति गर्नु अत्यन्त कठिन हुनेछ। राैतहट जिल्ला सहित मधेस प्रदेशका विभिन्न सन्चारमाध्यम तथा सन्चारकर्मीहरुले दितवंगतप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चिरशान्ति र बैकुण्ठबासको कामना गरेका छन ।

साथै, शोकाकुल परिवारजनलाई यो गहिरो पीडा सहन सक्ने शक्ति प्रदान गरियोस् भन्ने कामना गरेका छन।

ॐ शान्तिः, ॐ शान्तिः, ॐ शान्तिः।

प्रतिक्रिया