बलरामा दलित महिला सदस्यको निधन : एम्बुलेन्स चालकको लापरवाहीप्रति नगर प्रमुखको शून्य सहनशीलता नीति

newsdesk

सर्लाही, बलरा — बलरा नगरपालिका–११ वडाकी जननिर्वाचित दलित महिला सदस्य, समाज परिवर्तनकी निडर सिपाही तथा सेवाभावको प्रतिमूर्ति चन्दा देवी बैठाको सडक दुर्घटनामा परेको दुःखद निधन भएको छ। 

उक्त घटनाप्रति नगर प्रमुख रामाशंकर प्रसाद कुशवाहाले गहिरो श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति संवेदना व्यक्त गरेका छन्।

नगर प्रमुख कुशवाहाले जनप्रतिनिधिमात्र नभई समाजले नै न्याय र समानताको सशक्त आवाज गुमाएको उल्लेख गर्दै स्वास्थ्य सेवामा देखिएको लापरवाहीप्रति कठोर कदम चालेका छन्।

मिति २०८२ साउन २३ गते दुर्घटनामा परेकी चन्दा देवी बैठालाई नगर अस्पतालमा प्रारम्भिक उपचारपछि प्रादेशिक अस्पताल मलंगवा रेफर गर्ने क्रममा ड्युटीमा रहेका एम्बुलेन्स चालक रामाशंकर महतोद्वारा “डिजल छैन, एम्बुलेन्स सुचारु छैन” भन्ने गैरजिम्मेवार व्यवहार देखिएको नगर प्रमुखले बताएका छन्।

उनले यस्तो कार्य अक्षम्य लापरवाही भएको भन्दै सम्बन्धित चालकलाई तत्काल काममा नलगाउने निर्देशन दिइएको र घटनाको सत्यतथ्य छानबिन गर्न वडाध्यक्ष बिरेन्द्र प्रसाद चौधरीको संयोजकत्वमा समिति गठन गरि ७ दिनभित्र प्रतिवेदन पेश गर्न आदेश दिएको बताए।

नगर प्रमुख कुशवाहाले स्वास्थ्य सेवामा कुनै पनि बहानामा मानव जीवनप्रति लापरवाही स्वीकार्य नहुने स्पष्ट पार्दै, भविष्यमा यस्ता पीडादायी घटना दोहोरिन नदिन आधारभूत स्वास्थ्य सुविधा अझ व्यवस्थित र सबल बनाइने अठोट व्यक्त गरेका छन्।

नगर प्रमुखको नेतृत्वमा प्राथमिक स्वास्थ्य केन्द्रलाई “बलरा नगर अस्पताल” मा स्तरोन्नति गर्दै पुरानो भवनको रेट्रोफिटिङ, आधुनिक सुविधा सम्पन्न दोस्रो तला निर्माण, लामो समयदेखि अवरुद्ध बर्थिङ सेन्टर पुनः सञ्चालन, ल्याब सेवाको डिजिटलाइजेशन, आकस्मिक उपचार कक्ष स्थापना, औषधि व्यवस्थापन सुदृढीकरण, थप तीन मेडिकल अधिकृत नियुक्ति र २४ घण्टा एम्बुलेन्स सेवा सुनिश्चित गर्न थप चालक नियुक्ति जस्ता महत्वपूर्ण कार्य सम्पन्न गरिएका थिए।

तर अपेक्षित सुधार नदेखिएपछि करिब १० दिनअघि अस्पतालका ६०% कर्मचारी हेरफेर गरिएको र त्यसपछि सेवामा सुधार देखिन थालेको नगर प्रमुखले जानकारी दिए।


प्रतिक्रिया