सर्लाही । गोडैता नगरपालिका–३ भगवतिपुरस्थित श्री जनता नमुना माध्यमिक विद्यालयमा कार्यरत लेखापाल घनश्याम यादव मधेश प्रदेशकै उत्कृष्ट विद्यालय कर्मचारी घोषित भएका छन्।
प्रधानाध्यापक संघ (PAN), मधेश प्रदेशको तेस्रो महाधिवेशनका अवसरमा यादवलाई मधेश प्रदेशकै उत्कृष्ट विद्यालय कर्मचारी (विद्यालय सहायक/लेखापाल) का रूपमा सम्मान गरिएको हो।
मधेश प्रदेशका सभामुख राम असीस यादवले यादवलाई सम्मान तथा प्रशंसापत्र प्रदान गरेका थिए। विद्यालयको प्रशासनिक तथा लेखा व्यवस्थापनमा पुर्याएको योगदानको मूल्यांकन गर्दै उनलाई उत्कृष्ट कर्मचारीका रूपमा सम्मान गरिएको जनाइएको छ।
सम्मानपछि लेखापाल यादवले प्राप्त सम्मानले आफ्नो सेवाप्रतिको जिम्मेवारी, उत्साह र आत्मविश्वास थप बढाएको बताए। उनले आगामी दिनमा पनि विद्यालयको सेवा तथा शिक्षा क्षेत्रको विकासमा अझ जिम्मेवार, इमानदार र समर्पित भएर योगदान गर्ने प्रतिबद्धता व्यक्त गरे।
PAN मधेश प्रदेशको महाधिवेशनबाट गोडैता नगरपालिका–३ भगवतिपुरस्थित जनता नमुना माध्यमिक विद्यालयका कर्मचारी प्रदेशकै उत्कृष्ट घोषित हुनु विद्यालय र स्थानीय समुदायका लागि समेत गौरवको विषय बनेको छ।