एसपी यादव, सर्लाही, जेठ ४ गते । मलंगवा नगरपालिका–७ मुसैलिमा आर्थिक वर्ष २०७९/०८० र २०८०/०८१ मा सञ्चालन भएका वडा स्तरीय योजनाको खर्च विवरण तथा सो अवधिमा कार्यरत कर्मचारीहरूको विवरण सार्वजनिक नगरिएको भन्दै विभिन्न राजनीतिक दलका प्रतिनिधि र स्थानीय वडाबासी आन्दोलित भएका छन्।
वडा अध्यक्ष मो. इसा मिकरानीले जेठ ३ गते शनिबार सो विवरण सार्वजनिक गर्ने लिखित प्रतिबद्धता जनाएका थिए। तर पछि आफ्नै निर्णयबाट पछि हटेपछि आइतबारदेखि वडा कार्यालयसहित यसअन्तर्गतका सम्पूर्ण कार्यालय र शैक्षिक संस्थामा तालाबन्दी गरिएको हो।
जसपा नेपालबाट वडा अध्यक्ष पदका प्रत्याशी बिबेक कुमार यादवका अनुसार, वडा अध्यक्ष मिकरानीको अध्यक्षतामा वैशाख १९ गते बसेको बैठकले विवरण जेठ ३ गते सार्वजनिक गर्ने निर्णय गरेको थियो। तर सो दिन स्थानीयको रोहवरमा फोनमार्फत मिकरानीलाई कार्यालयमा उपस्थित भई विवरण सार्वजनिक गर्न अनुरोध गर्दा उनले अस्वीकार गरेका थिए।
यसअघि २०८२ वैशाख १४ गते नगर प्रमुख नागेन्द्र प्रसाद यादव समक्ष विवरण माग गर्दै निवेदन पनि दिइएको थियो। नगर प्रमुखले लेखा शाखालाई वैशाख १५ गतेभित्र विवरण उपलब्ध गराउन आदेश दिएको भए पनि (दर्ता नं. ३५४०) सो आदेश पालना नभएपछि स्थानीयमा असन्तुष्टि चुलिएको हो।
नेता यादवले भने, “९ महिनाअघि वडा कार्यालयमा विवरण माग गरिएको थियो, तर कुनै जवाफ नआएपछि नगरपालिकासँग माग गर्नुपर्यो। जनताको करबाट सञ्चालित योजनाको विवरण लुकाउनु गम्भीर अनियमितताको संकेत हो।”
वडा अध्यक्ष मिकरानीमाथि योजना खर्चमा पारदर्शिता नरहेको, विकास निर्माणका कामहरू मनोमानी ढंगले सञ्चालन गरिएको, छोरालाई उपभोक्ता समिति अध्यक्षमा नियुक्त गरिएको र बुहारीलाई कम्प्युटर अपरेटरको रूपमा नियुक्त गरी तलब खुवाइएको जस्ता गम्भीर आरोपहरू समेत लागेका छन्।
तालाबन्दीसँगै स्थानीय र राजनीतिक दलका प्रतिनिधिहरूले नगर प्रमुख, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई पत्र पठाएर आवश्यक सहयोग र समन्वय गर्न आग्रह गरेका छन्।
यसअघि वैशाख १८ गते नेता यादवको पहलमा जिल्ला समन्वय समिति, सर्लाहीको सभाहलमा पत्रकार सम्मेलन गरी योजनाको पारदर्शिता र जनउत्तरदायिता सुनिश्चित गर्न माग गरिएको थियो।
नेता यादवले भने, “अब पनि माग पूरा नभए थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गरिनेछ।”