रौतहट, ५ जेठ । सधैभरी भिडभाड हुने जिल्ला प्रशासन कार्यालय रौतहटबाट सेवा ग्राहीहरुलाई सहज रुपमा सेवा प्रवाह गर्ने उद्देश्यबाट आज सोमवार देखि टोकन प्रणाली लागु गरिएका छन् ।
जिल्ला प्रशासन कार्यालय गौरमा काम गराउन आउने सेवाग्राहीहरु काम गराउन झ्यालमा तछाडमछाड गर्ने, अरुको पालो भएपनि काम गराउन हतार गर्ने परमपराको अन्त्य गरेर पालै पालोले सहज, सरल एवं छरितो ढंगबाट काम गर्ने सफा नियतबस टोकन प्रणाली सिष्टमको व्यवस्थापन गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएका हुन् ।
टोकन प्रणाली सिष्टमको प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले उदघाटन गर्दै यस्तो प्रणालीबाट नागरिकता, नागरिकताको प्रतिलिपि, राहदानी (पासपोर्ट) लगायतका काम गराउन आउने सेवाग्राहीहरुलाई समयको फाइदा पुग्ने तथा अनावश्यक हुने गरेका झन्झटबाट मुक्ति दिलाउने उद्देश्यबाट टोकन सिष्टम सुचारु गराईएको बताए ।
सेवाग्राहीहरुलाई अलिकति पनि झन्झटिलो नहोस, आउने वित्तिकै टोकन लिएर पालो कुरेर निर्देशित गरेका झ्यालमा गएर काम गराउन परमपराको विकास हेतु टोकन प्रणाली सिष्टमले महत्वपूर्ण भुमिका निर्वाह गर्ने भएको हुँदा आज देखि अनावश्यक भिडभाड कम हुने उनले विश्वास व्यक्त गरे ।
उक्त उदघाटन कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी किरणनिधी तिवारी, प्रशासकीय अधिकृत मनिष झा सहितका जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरु लगायत सेवाग्राहीहरुको उपस्थिति रहेको जिल्ला प्रशासन कार्यालय रौतहट गौरका प्रशासन शाखाका नायव सुब्बा रामनरेश साहले जानकारी दिए ।