सर्लाही, १० जेठ । भारतसँग सीमा जोडिएको सर्लाहीमा तस्करीको धन्दा खुलेआम चलिरहेको छ। सरकारी निकायहरू मौन छन्, तस्करहरू बेखौफ। पर्सा, त्रिभुवननगर, लचका, गोरखकाली, भाँडसर, सिमरा जस्ता सीमावर्ती नाकाहरूबाट दैनिक हजारौँको मूल्य बराबरको सामान भन्सार छलेर ओसारपसार भइरहेको छ।
तस्करीको सुनियोजित सञ्जालमा प्रहरी प्रशासनको संलग्नता रहेको जनगुनासो व्यापक छ। यति मात्र होइन, तस्करहरू यति धेरै हौसिएका छन् कि उनीहरू नियन्त्रण गर्न गएका सरकारी टोलीमाथि समेत आक्रमण गर्न थालेका छन्।
सीमावर्ती क्षेत्रबाट तस्करी कार्य बढेको व्यापक जनगुनासो आएपछि मलंगवा भन्सार कार्यालयबाट त्रिभुवन नगर क्षेत्रमा खटिएका भन्सार गस्ती टोलीको पिकअप माथि शुक्रवार अपरान्ह् आक्रमण गरियो । जेनतेन पिकअप कुदाएर भाग्न सफल भएको भन्सार कार्यालय श्रोतबाट बुझिएको छ ।
मलंगवा भन्सार कार्यालयका पिकअप माथि ढुंगामुढा गराउने तस्करहरुको अहिले उक्त क्षेत्रमा ठूलो साम्राज्य रहेको हुँदा बा। १ झ। ८६२६ नम्वरको गाडी माथि महिलाहरुले ढुंगामुढा गर्दा गाडीको सिसा फुटेको छ । किनभने भन्सारको गस्ती टोलीले महिलाहरु भारतबाट ल्याइरहेका डिउ, स्प्राइट, कोकाकोला, स्ट्रींग, रेडबुल सहितका जुसका बोटलहरु नियन्त्रणमा लिएपछि उनीहरु भन्सारको गाडी माथि जाइलागेका थिए ।
सर्लाहीमा यस्ता गतिविधि हुनु अहिले सामान्य बन्दै गएको छ । हरेक स्थानमा सेटिंगमै तस्करी कार्य फस्टाउदै गएको कारण भन्सार कार्यालयको राजस्वलाई समेत प्रभावित पारेका छन् ।
यस विषयमा मलंगवा भन्सार कार्यालयका प्रमुख ठाकुर आचार्यले सीमानाकामा गस्ती अनुगमनको क्रममा शुक्रवार अपरान्ह् तस्करी कार्यमा महिला तथा बालबालिकाहरुलाई प्रयोग गराएर ल्याउदै गरेका सामानहरु खोस्ने क्रममा उनीहरुले हाम्रा टोली माथि आक्रमण गरेको स्वीकारे ।
महिलाहरुले हानेको ढुंगा प्रहारबाट भन्सारको गाडीमा क्षति भएको बताए । मानिस पहिचान भईसकेको हुँदा प्रहरीसंग समात्न अनुरोध गरेका छौं, मुद्दा दर्ता गरेर समातिने प्रक्रियामा अघि बढ्ने उनले स्पष्ट पारे ।
एक प्रश्नको जवाफमा भन्सार प्रमुख आचार्यले सीमानाकाबाट हुने चुहावटको कारण लक्ष्य अनुसारको राजस्व उठाउन अलि गाह्रो रहेको बताउदै हामी लक्ष्य अनुसारको राजस्व संकलन गर्न हरेक किसिमका उपायहरु अवलम्बन गर्दै आइरहेका छौं तैपनि सफलता पाउन नसकेको बताए ।
भन्सार कार्यालयको गाडी माथि भएको तोडफोडको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता एवं डिएसपी सरोज राईले भन्सार कार्यालयको गाडी माथि आक्रमण गर्नेहरुको खोजी कार्य भईरहेको बताएपनि भन्सार कार्यालयले अहिले सम्म लिखित जानकारी नगराएको उहाँको भनाई छ ।
घुमुवा प्रहरी रक्सी पसलमा पैसा खेलाएर टिकटक बनाएपछि प्रहरीको आचरण माथि गम्भीर प्रश्न चिन्ह् खडा
सर्लाही प्रहरीका हबलदार रामसेवक ठाकुर ९घुमुवा० त्रिभुवन नगरको एक रक्सी पसलमा पैसा खेलाउदै गरेको तस्वर यतिखेर भाइरल बनेका छन् ।
प्रहरी हवलदार ९घुमुवा प्रहरी० ठाकुरको प्रहरी आचरणको बर्खिलापमा गएर भाईरल भएको उक्त तस्वीरको वास्तविक्ता बुझ्दै जाँदा आज भन्दा ६ महिना पुरानो तस्वीर भएको भेटियो ।
उक्त रक्सी पसलमा बसेर प्रहरी हवलदार ठाकुर हजारको नोट गन्दै टिकटक बनाएको भिडियो प्राप्त भएको छ । “उक्त भिडियोमा भन्न खोजिएको छ की, पैसा कमाउन थालेपछि घरमा पनि इज्जत पाईन्छ, राम्रोको सबै साथी हुन्छ तर विग्रीएका कोही पनि हुदैन” बोलको गितमा टिकटक बनाएर अपलोड गरेको पुष्टि भएको छ ।
तर जे सुकै भएपनि नेपाल प्रहरी एउटा समाज सुधार एवं अपराध नियन्त्रण सहितका विभिन्न सकारात्मक कार्यका लागि आफनो पहिचान कायम गरेको भएपनि रक्सी पसलमा बसी, पैसा गन्दै टिकटक बनाउने कार्य प्रहरी संगठन विपरित भएको देखिन्छ ।
छानबिनमा खुलेको छ — उक्त भिडियो ६ महिना पुरानो हो, तर यसले देखाउँछ — प्रहरी संगठन भित्रको अनुशासन संकटमा छ। प्रश्न उठ्छस् यस्तो अनुशासनहीनता हुने ठाउँमा, तस्करीजस्तो अपराध कसरी नियन्त्रण हुन्छ?
प्रहरी सेवामा अनुशासित र संगठनप्रति कर्तव्यनिष्ट बन्नुपर्ने तर यहाँ दृष्य अर्कै देखियो ।
तस्करीको खुलेआम सञ्जाल
भारतसँग सीमा जोडिएको सर्लाहीका त्रिभुवननगर, पर्सा, लचका, भाँडसर, गोरखकाली, सिमरा लगायतका नाकाहरूबाट दैनिक हजारौँ मूल्य बराबरको सामान राजस्व छलेर नेपाल भित्रिने र यहाँबाट मदिरा, मकै, प्रतिबन्धित औषधिहरू भारत पठाइने क्रम रोकिनुको साटो तिव्र गतिमा बढ्दो छ।
स्रोतहरू भन्छन् – “स्थानीय राजनीतिक संरक्षण, प्रहरी–प्रशासनको सेटिङ, र भन्सार कार्यालयको कमजोरीकै कारण तस्करीको कारखाना खुलेआम संचालन भइरहेको छ।”
तस्करी सर्लाहीको सीमामा मात्र नभई, स्थानीय सत्ताको संरक्षणमा संस्थागत व्यापारजस्तो बनेको छ। यो व्यापारले न त राज्यलाई राजस्व दिन्छ, न त समाजलाई शान्ति। उल्टैः राज्यसंयन्त्रको पतन, सुरक्षाकर्मीको पतनशीलता र संगठित अपराधको सशक्तिकरण मात्र दिन्छ।
नेपाल प्रहरीजस्तो अनुशासित निकायका सदस्यबाट यस्तो गैरजिम्मेवार गतिविधि हुनु संस्थाको छविमाथि गम्भीर असर पार्ने विषय हो। प्रहरी संगठनले यस घटनाप्रति के कदम चाल्छ भन्ने प्रतीक्षा गरिएको छ।