जनमत पार्टी सर्लाहीद्वारा गणतन्त्र दिवसको अवसरमा सबै वार्डमा दीप प्रज्वलन

newsdesk

सर्लाही, जेठ १५ – गणतन्त्र दिवस २०८२ को अवसरमा जनमत पार्टी सर्लाहीले जिल्लाभरका दुई सय वटै वडामा आज साँझ दीप प्रज्वलन कार्यक्रमको आयोजना गर्दै गणतन्त्र दिवस हर्षोल्लासपूर्वक मनाउने भएको छ।

पार्टीका जिल्ला इञ्चार्ज तथा युवा नेता श्रीचन यादव (सुजन) ले १७औं गणतन्त्र दिवसको शुभकामना दिंदै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने संघर्षमा महान जनयुद्ध, संयुक्त जनआन्दोलन र मधेश आन्दोलनलगायत विभिन्न आन्दोलनहरूमा बलिदान दिने सम्पूर्ण शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ।

नेता यादवले जिल्लाका सबै वडा कमिटीहरूलाई दीप प्रज्वलनसहित शुभकामना आदान–प्रदान गरेर दिवस मनाउन निर्देशन दिनुभएको छ। उहाँले भन्नुभयो, “नेपाली जनताको कठोर संघर्षपछि गणतन्त्र स्थापना भएको हो, तर अझै आम नागरिकको जीवनमा ठोस परिवर्तन देखिएको छैन। अबको आवश्यकता पूर्ण लोकतन्त्र, सुशासन, आर्थिक समृद्धि र सामाजिक न्यायको लागि एकजुट भएर अघि बढ्नु हो।”

गणतन्त्रविरुद्ध विभिन्न स्वरहरू उठ्न थालेकोप्रति चिन्ता व्यक्त गर्दै नेता यादवले भन्नुभयो, “गणतन्त्र भन्दा राम्रो व्यवस्था अरु हुन सक्दैन। केही नेताहरूको व्यवहारका कारण व्यवस्थामाथि प्रश्न उठाउनु गलत हो। नेतृत्व सुध्रनु आवश्यक छ, र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नु सबैको कर्तव्य हो।” साथै उहाँले गणतन्त्रविरोधी गतिविधिमा संलग्न हुनेहरूलाई चेतावनीसमेत दिनुभयो।

२०७५ सालमा जननिर्वाचित संविधान सभाको पहिलो बैठकले २४० वर्ष लामो निरंकुश राजतन्त्रको अन्त्य गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो। आज गणतन्त्रको १७औं वार्षिकोत्सव देशभर विविध कार्यक्रममार्फत मनाइँदैछ।


प्रतिक्रिया