नेपाली कांग्रेस नेताहरूमाथि पटक–पटक आक्रमण, कांग्रेस सर्लाहीद्वारा दोषीलाई कार्वाहीको माग ।

newsdesk

सर्लाही, जेठ १० – सर्लाही जिल्लामा पछिल्ला केही दिनयता नेपाली कांग्रेसका नेताहरू तथा कार्यकर्तामाथि श्रृंखलाबद्ध रूपमा भइरहेका आक्रमणका घटनाप्रति नेपाली कांग्रेस जिल्ला कार्यसमिति र क्षेत्र नं. ४ को क्षेत्रीय समितिले गम्भीर ध्यानाकर्षण गराउँदै दोषीलाई कडा कारबाहीको माग गरेका छन्।

मिति २०८२ साल जेठ ७ गते मलंगवाबाट घर फर्कंदै गरेका नेपाली कांग्रेसका नेता तथा रामनगर गाउँपालिकाका पूर्व अध्यक्ष पदका उम्मेदवार हरिनन्दन प्रसाद यादवमाथि गोदैता क्षेत्रको हुलाकी सडकमा भारतीय नम्बर प्लेट भएका तीन वटा गाडीमा आएका झण्डै १५–१६ जनाको समूहले आक्रमण गर्ने प्रयास गरेका थिए। यादवले आफूमाथि कुटपिटको प्रयास भएपछि गाडी नरोकी भागे पनि आक्रमणकारीहरूले झन्डै २–३ किलोमिटरसम्म पिछा गरी बगदह चिनीमिल नजिक गाडी रोकी तोडफोड गर्नुका साथै गाडी पल्टाइ मानवीय क्षति पुर्‍याउने प्रयास गरेको विज्ञप्तिमा उल्लेख छ।

यस घटनाका दोषीहरू पहिचान भइसकेको तथा प्रयोग भएका सवारी साधनहरूको विवरणसमेत प्रशासनलाई बुझाइएको भए तापनि प्रशासनले आवश्यक कारबाही नगरेको कांग्रेसको आरोप छ।

यसैबीच, मिति २०८२ जेठ ९ गते गृह मन्त्री रमेश लेखकको जनकपुर आगमनको अवसरमा नेपाली कांग्रेस प्रदेश उपसभापति तथा संसदीय दलका उपनेता वीरेंद्र प्रसाद सिंहमाथि समेत आक्रमणको प्रयास भएको कांग्रेसको दाबी छ।

जनकपुरबाट फर्कंदै गर्दा सिंह सवार गाडी जस्तै देखिने पूर्व अर्थमन्त्री संजय कुमार यादवको गाडीलाई लक्षित गर्दै हुलाकी सडकको भेल्ही नजिक २ वटा भारतीय नम्बर प्लेट भएका नेक्सन गाडीहरूले बाटो छेकेर आक्रमण प्रयास गरेका थिए। तर, यादवको अंगरक्षकले तत्काल ओर्लेर प्रतिवाद गरेपछि मात्र उनीहरू पछि हटेको विज्ञप्तिमा उल्लेख छ।

घटनासँग सम्बन्धित भिडियो फुटेज, गाडी नम्बर र घटनाका विवरणहरू जिल्ला प्रहरी कार्यालयमा बुझाइएको भए पनि आजसम्म कुनै कारबाही नभएको कांग्रेसको गुनासो छ।

जिल्ला कार्यसमिति र क्षेत्रीय समितिले छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गर्दै दोषीलाई कारबाही गर्न प्रशासनलाई पुनः चेतावनी दिएका छन्। उनीहरूले पटक–पटक आक्रमणको शिकार भएका नेता तथा कार्यकर्ताको सुरक्षाको ग्यारेन्टी माग्दै अब पनि अपराधीमाथि कारबाही नभए कडा आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिएका छन्।

“शान्ति सुरक्षा र सुशासनको अनुभूति गराउने जिम्मा सरकार र प्रशासनको हो,” विज्ञप्तिमा उल्लेख गरिएको छ, “तर अपराधी खुलेआम हिँडिरहेका छन्, जनतामा त्रास बढ्दो छ।”

नेपाली कांग्रेस सर्लाहीले दोषीहरूलाई शीघ्र कानुनी दायरामा ल्याई आम जनतालाई शान्ति सुरक्षाको अनुभूति गराउन माग गर्दै सरकारसँग कडा कदम चाल्न आग्रह गरेको छ।


प्रतिक्रिया