सर्लाही, मानपुर । सुनरी माई युवा क्लब, बसबरिया–२ मानपुरको आयोजनामा सम्पन्न भएको क्रिकेट टुर्नामेन्टको फाइनल खेल आज भव्य रुपमा सम्पन्न भएको छ।
उक्त फाइनल खेलमा मानपुर र धनगढा टिमबीच प्रतिस्पर्धा भएको थियो। दमदार खेल कौशल प्रस्तुत गर्दै धनगढा टिमले उपाधि हात पार्न सफल भएको छ। टुर्नामेन्टभर उत्कृष्ट प्रदर्शन गर्दै आएको धनगढा टिमको जितले स्थानीय खेलप्रेमीहरूमा उत्साह थपेको छ।
कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता गजेन्द्र साह प्रमुख अतिथि रहनु भएको थियो। साथै पूर्व गाउँपालिका अध्यक्ष राम अयोध्या यादव, नेता विनोद राय र नेता मदन रायको विशेष आतिथ्यता रहेको थियो।
अतिथिहरूले विजयी टिमलाई ट्रफी, प्रमाणपत्र तथा शुभकामनासहित सम्मान गरेका थिए। कार्यक्रममार्फत खेलकुदले युवाहरूलाई सकारात्मक बाटोमा लैजाने र सामाजिक एकता बलियो बनाउने सन्देश पनि दिइएको थियो।
सुनरी माई युवा क्लबले आगामी दिनहरूमा अझ व्यवस्थित र भव्य प्रतियोगिता गर्ने प्रतिबद्धता समेत जनाएको छ।