अजय मिश्र, जीतपुर, कपिलवस्तु । कपिलवस्तुको सांस्कृतिक पहिचान, उद्योग–व्यापारको प्रवर्द्धन र पर्यटन विकासका लागि आयोजना हुँदै आएको कपिलवस्तु महोत्सव यस वर्ष १६औं संस्करणमा प्रवेश गर्न लागेको छ। बाणगंगा वेलफेयर सोसाइटीको नेतृत्वमा आगामी मंसिर १८ गतेदेखि पुस १ गतेसम्म महोत्सव आयोजना हुने भएको हो।
कपिलवस्तु व्यापार संघले २०६५ सालमा सुरु गरेको महोत्सव पछिल्ला वर्षमा वेलफेयरको नेतृत्वमा निरन्तरता पाइरहेको छ। अध्यक्ष राजकुमार खाँणका अनुसार कोरोना महामारी, आर्थिक मन्दी र चर्को व्याजदरजस्ता चुनौतीका बीच पनि महोत्सवले जिल्लाको पहिचानलाई निरन्तर जोगाउँदै आएको छ।
अध्यक्ष खाँणले महोत्सव कुनै व्यक्तिगत वा प्रतिस्पर्धात्मक स्वार्थ नभई समग्र कपिलवस्तुको पहिचान र समृद्धिको अभियान भएको बताए। उनका अनुसार यस वर्षको महोत्सवलाई भव्य र राष्ट्रियस्तरको औद्योगिक प्रदर्शनीका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।
महोत्सवमा उद्योग, व्यापार, पर्यटन, भेषभूषा, कला–संस्कृति, ऐतिहासिक स्थलको संरक्षण तथा प्रवर्द्धनमा जोड दिइनेछ। यसअघि हेलिकप्टर सयरमार्फत पुष्पवर्षा जस्ता नयाँपन दिइएको महोत्सवमा यसपटक पहिलो पटक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको रेस्लिङ प्रदर्शन पनि हुने जनाइएको छ।
इतिहास र नेतृत्व यात्रा
पहिलो महोत्सवको संयोजन स्व. शंकर प्रसाद आचार्यले गरेका थिए। त्यसपछि विष्णु प्रसाद न्यौपाने, स्व. शेरबहादुर क्षेत्री, देवी पाण्डे, पदम सेन लगायतले संयोजकत्व सम्हालेका थिए।
सबैभन्दा धेरै पटक नेतृत्व गर्ने सौभाग्य हालका अध्यक्ष राजकुमार खाँणलाई प्राप्त भएको छ, जसले सातौं, नवौं, ११औं र १४औं महोत्सवसहित धेरै संस्करण सफलतापूर्वक सम्पन्न गराइसकेका छन्।
वेलफेयरले अघिल्ला महोत्सवका आम्दानीबाट लागुऔषध दुर्व्यसन नियन्त्रण, सामाजिक तथा सामुदायिक सहयोग, चोक–चोकमा CCTV क्यामरा जडान, कला–संस्कृति संरक्षणलगायतका काम गर्दै आएको छ।