सडक दुर्घटना न्यूनीकरणका लागि सर्लाहीमा ट्राफिक सचेतना सप्ताह सुरु

newsdesk

मधेश प्रदेशका विभिन्न जिल्लामा सडक दुर्घटनाको दर उच्च रुपमा बढेपछि सडक सुरक्षा प्रति जनचेतना अभिवृद्धि गर्न सर्लाहीमा ट्राफिक सचेतना सप्ताह सुरु गरिएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीको आयोजनामा र मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयको सहयोगमा सुरु गरिएको यो सप्ताहले विशेषगरी सडक दुर्घटना न्यूनीकरण तथा नागरिकमा ट्राफिक नियमको जानकारी फैलाउने उद्देश्य राखिएको छ।

प्रहरी उपरीक्षक (एसपी) योगेन्द्र कुमार खड्काका अनुसार जेष्ठ महिनाको सुरुदेखि मात्र सर्लाहीमा १० जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन्। पछिल्ला दिनमा सडक दुर्घटनाको दर चिन्ताजनक रुपमा बढेपछि यो अभियान सुरु गरिएको हो।

जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल सिंहले विशेषगरी १५ देखि ३० वर्ष उमेर समूहका युवाहरू दुर्घटनामा बढी परिरहेको बताउँदै जनचेतनामूलक कार्यक्रमले समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो।

नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष ओमप्रकाश ठाकुरले पत्रकारहरू दैनिकजसो सडक दुर्घटनासम्बन्धी दुःखद समाचार लेख्नुपर्ने बाध्यता रहेको उल्लेख गर्दै धेरैजसो दुर्घटना लापरवाह चालक र ट्राफिक नियमको अवज्ञाका कारण हुने बताए।

ट्राफिक सचेतना सप्ताह अन्तर्गत बिहीवार प्रभातफेरी आयोजना गरियो जसमा ट्राफिक चिन्हसहितका तुल, बाजा, झाँकी तथा नारासहितको जुलुस मलंगवाको नगर परिक्रमा गर्दै नगरपालिकाको चोकमा सभामा परिणत भएको थियो।

कार्यक्रममा प्रहरी, राजनीतिक दलका प्रतिनिधि, विद्यार्थी, पत्रकार तथा नागरिक समाजका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।

आयोजकका अनुसार सप्ताहव्यापी रुपमा सञ्चालन गरिने यस अभियानमार्फत सडक दुर्घटनाका कारण, सजगता र सुरक्षा उपायका विषयमा स्थानीय स्तरमा व्यापक चेतना फैलाउने लक्ष्य लिइएको छ।

प्रतिक्रिया