सर्लाहीको पर्सा गाउँपालिकामा अध्यक्ष कप क्रिकेट प्रतियोगिता र खेलकुद मैदान उद्घाटन सम्पन्न

newsdesk


सर्लाहीको पर्सा गाउँपालिकामा आज युवा मैत्री हाम्रो समाजको आधार, जिम्मेवारी खेलाडी स्थानीय सरकार भन्ने मुल नारा सहित अध्यक्ष कप क्रिकेट प्रतियोगिता तथा नयाँ क्रिकेट खेलकुद मैदानको औपचारिक उद्घाटन सम्पन्न भएको छ। उद्घाटन समारोह गाउँपालिका अध्यक्ष धिरेन्द्र रायको अध्यक्षतामा र माननीय प्रदेश सरकारका मन्त्री जंगीलाल रायको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।


उद्घाटन कार्यक्रम पर्सा गाउँपालिका वार्ड २ र ३ बीच, बाँके खोला पुलको पश्चिम साइडमा रहेको नयाँ क्रिकेट मैदानमा आयोजित गरिएको थियो।


कार्यक्रममा प्रमुख अतिथि मन्त्री जंगीलाल रायले पर्सा गाउँपालिकाको खेलकुद क्षेत्रमा व्यवस्थित र सुविधासम्पन्न मैदान निर्माणमा कुनै कसर बाँकी नराखिने प्रतिबद्धता व्यक्त गर्दै किसानहरुको सिचाई समस्या समाधानका लागि डिप बोरिङ र नहर निर्माणका पहल गरिने बताए।


गाउँपालिका अध्यक्ष धिरेन्द्र रायले भने कि निर्वाचित भएदेखि नै युवाहरुको मागमा आधारित रहेर आफनो गाउँपालिकामा खेलकुद मैदान निर्माण गराउन पाउँदा खुशी लागेको छ। उनले यस किसिमको खेलकुद आयोजना स्थानीय खेलाडीहरुको प्रतिभा पहिचान तथा विकासमा मद्दत पुग्ने विश्वास व्यक्त गरे।


कार्यक्रमको स्वागत मन्तव्य प्रमुख प्रशासकीय अधिकृत मदन बहादुर थिंगले प्रस्तुत गरेका थिए। कार्यक्रममा गाउँपालिकाका अध्यक्ष नुतन देवी, सबै वार्डका जनप्रतिनिधि, कर्मचारी, खेलप्रेमी, खेलाडी तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो।


उद्घाटन सत्र पछि अध्यक्ष कप क्रिकेट प्रतियोगिता वार्ड २ र ३ बीच सञ्चालन हुने बताइएको छ। प्रतियोगिता एक हप्तासम्म चल्ने छ भने विजेता टिमलाई २५ हजार र १५ हजार नगद सहित मेडल र प्रशंसा पत्र प्रदान गरिने कार्यक्रम रहेको छ।



प्रतिक्रिया