मुख्यमन्त्री सिंहको आरोप: स्थानीय तहले पैसा लिएर अवैध अस्पताल पुनः सञ्चालनमा ल्याइरहे"

newsdesk

सर्लाही। मधेश प्रदेशका मुख्यमन्त्री तथा जनमत पार्टीका नेता सतीशकुमार सिंहले स्थानीय तहमाथि गम्भीर आरोप लगाएका छन्। उनले आफूले अनुगमन गरेर बन्द गराएका अवैध निजी अस्पतालहरू स्थानीय सरकारहरूले पैसा लिएर पुनः सञ्चालनमा ल्याएको दाबी गरेका छन्।

शनिबार सर्लाहीको बरहथवा नगरपालिका–१, नयाँ बजारमा आयोजित जनमत पार्टीको आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै मुख्यमन्त्री सिंहले यस्तो आरोप लगाएका हुन्।

“मैले अनुगमन गर्दा दर्ता नै नभएका र मापदण्ड विपरीत सञ्चालनमा रहेका अस्पतालहरू बन्द गराएँ,” सिंहले भने, “तर स्थानीय तहहरूले धमाधम पैसा खाएर ती अस्पतालहरू फेरि खोल्न दिइरहेका छन्।”

उनले प्रदेश सरकार सञ्चालनमा विभिन्न अप्ठ्यारा र अवरोधहरू रहेको उल्लेख गर्दै संयुक्त सरकारका कारण आफूले सोचेजस्तो काम गर्न नसकेको गुनासो पनि पोखे। “अन्य पार्टीहरूसँग मिलेर सरकार चलाउँदा धेरै चुनौतीहरूसँग जुध्नुपर्छ,” उनले भने।

कार्यक्रममा मुख्यमन्त्री सिंहले जनमत पार्टीले आगामी सङ्घीय निर्वाचनमा ५० भन्दा बढी सिट जित्ने लक्ष्य लिएको जानकारी दिए। उनले पार्टी अध्यक्ष डा. सीके राउतलाई प्रधानमन्त्री बनाउने अभियानमा जुट्ने उद्घोषसमेत गरे।

पार्टी कार्यक्रमपछि मुख्यमन्त्री सिंहले बरहथवा–१ स्थित खर्साल घाट पुगेर बागमती नदीको तटबन्धको निरीक्षणसमेत गरेका छन्।


प्रतिक्रिया