गोडैता–२ जयपुरमा माछा पाकेट विकास कार्यक्रमअन्तर्गत किसानलाई सामग्री वितरण

newsdesk

स्थानीय उत्पादनमा वृद्धि र स्वरोजगारको सम्भावना बलियो बनाउँदै कार्यक्रम

गोडैता, सर्लाही — प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाअन्तर्गत सञ्चालनमा रहेको माछा पाकेट विकास कार्यक्रम ले गोडैता नगरपालिका–२, जयपुरका किसानहरूलाई लक्षित गर्दै आज एक विशेष सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ।

गोडैता नगरपालिकाको सहकार्य र श्री विन मुखिया कृषक समूहको आयोजनामा सम्पन्न कार्यक्रममा माछा पालन तथा कृषि उत्पादनमा सहयोग पुर्‍याउने उद्देश्यले किसानहरूलाई माछाको भुर्रा, कृषि औजार, साना सिँचाइ उपकरण (स्यालो ट्युबवेल, विद्युतीय मोटर), माछा दाना, कीटनाशक औषधी लगायतका अत्यावश्यक सामग्रीहरू वितरण गरिएको हो।

कार्यक्रमका अगुवा तथा कृषक समूहका अध्यक्ष शीतल मुखियाको सक्रिय पहलमा सञ्चालन गरिएको सो कार्यक्रमले स्थानीय किसानहरूमा उत्साह थपेको छ। प्रमुख अतिथि गोडैता नगरपालिकाका नगरप्रमुख देवेन्द्र कुमार यादवले कार्यक्रमको उद्घाटन गर्दै आधुनिक कृषि प्रणाली र माछा उत्पादनले गाउँको आर्थिक विकासमा महत्वपूर्ण टेवा पुर्‍याउने विश्वास व्यक्त गरे।

उपप्रमुख अञ्जना कुशवाहा, वडा नं. २ का वडाध्यक्ष अजय प्रसाद साह, कृषि शाखा प्रमुख शहाबुदिन मिकरानी लगायत जनप्रतिनिधि र प्राविधिकहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा किसानहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।

स्थानीय उत्पादनमा वृद्धि, स्वरोजगारको सिर्जना र आयआर्जनमा सुधार गर्ने उद्देश्यसहित सञ्चालन गरिएको यस कार्यक्रमले गोडैताका किसानहरूलाई दीर्घकालीन रुपमा सक्षम बनाउने अपेक्षा गरिएको छ।


प्रतिक्रिया