चन्द्रनगरको ऐतिहासिक उपलब्धि : सामुदायिक विद्यालयका विद्यार्थीले पहिलो पटक एसईईमा A+ प्राप्त

newsdesk

सर्लाही, चन्द्रनगर । चन्द्रनगर गाउँपालिकामा पहिलोपटक सामुदायिक विद्यालयका विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा A+ ग्रेड ल्याउन सफल भएका छन्।

यस ऐतिहासिक सफलता प्राप्त गर्ने विद्यार्थी हुन् चन्द्रनगर–४, गरहाटोल निवासी रोहित कुमार यादव, जसले ३.७३ GPA हासिल गर्दै चन्द्रनगर गाउँपालिकाको नाम जिल्लाभर चिनाउन सफल भएका छन्।

रोहित चन्द्रनगर–२ स्थित श्री दुर्गा खोभारी जनता माध्यमिक विद्यालय, बबरगंजका छात्र हुन्। यस विद्यालयबाट पहिलोपटक यति उत्कृष्ट नतिजा आएको हो।

यस अवसरमा गाउँपालिकाले रोहित यादवलाई सार्वजनिक रूपमा सम्मान तथा बधाई प्रदान गरेको छ। गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले यस्तो सफलता चन्द्रनगरको शैक्षिक इतिहासमा ऐतिहासिक क्षण भएको उल्लेख गर्दै भने:

“गाउँपालिकाको स्थापना पश्चात हामीले सामुदायिक विद्यालयको गुणस्तर सुधार्न विभिन्न प्रयास गरेका थियौं। आजको यो सफलता हाम्रो सामूहिक प्रयासको प्रतिफल हो। रोहितको यो उपलब्धिले सम्पूर्ण गाउँपालिकाका विद्यार्थी र अभिभावकहरूमा शिक्षा प्रति विश्वास बढाएको छ। हामी यस्ता मेधावी विद्यार्थीहरूको साथमा सदैव रहनेछौं।”

अध्यक्ष महतोले आगामी दिनमा सामुदायिक विद्यालयहरूलाई प्रविधिमैत्री बनाउने, पुस्तकालय र विज्ञान प्रयोगशालाको विस्तार गर्ने, शिक्षक तालिम र छात्रवृत्तिका कार्यक्रमहरू थप सशक्त बनाउने योजना रहेको जानकारी पनि दिए।

विद्यालयका प्रधानाध्यापक, शिक्षक, व्यवस्थापन समिति, तथा रोहितका अभिभावकहरूलाई पनि गाउँपालिकाले धन्यवाद दिएको छ। विद्यार्थी रोहितले आफ्नो सफलताको श्रेय गुरुजन, विद्यालयको वातावरण र परिवारको सहयोगलाई दिएका छन्। उनले भविष्यमा चिकित्सा क्षेत्र (एमबीबीएस) मा अध्ययन गर्ने लक्ष्य रहेको बताएका छन्।

चन्द्रनगर गाउँपालिकाको यो सफलताले अन्य सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई पनि प्रेरणा दिने विश्वास गरिएका छन।

 

प्रतिक्रिया