प्रेमचन्द्र झा, रौतहट । बृन्दावन नगरपालिका उपमेयर संगीतादेवी रामका श्रीमान तथा नेकपा ९एस० का वन तथा वातावरण केन्द्रीय विभागका सदस्य अरुण कुमार रामले आज औपचारिक रूपमा नेकपा ९एकीकृत समाजवादी० परित्याग गरी नेकपा ९एमाले० मा प्रवेश गरेका छन्। पार्टी प्रवेशको कार्यक्रम आज बिहान एक भव्य समारोहबीच सम्पन्न भएको हो।
एमाले मधेस प्रदेश इन्चार्ज लीलानाथ श्रेष्ठले रामलाई विधिवत रूपमा पार्टीमा स्वागत गरे। उनले रामजस्ता विचारधारा, निष्ठा र कार्यशक्तिमा समर्पित नेताको आगमनले एमाले मधेसमा थप सशक्त र जनमुखी बन्ने विश्वास व्यक्त गरे।
पार्टी प्रवेश कार्यक्रममा एमालेका उच्च पदस्थ नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। मधेस प्रदेश अध्यक्ष चन्देश्वर मण्डल, केन्द्रीय सदस्यहरू अजयकुमार गुप्ता, रेखा झा, कुन्दन कुशवाहा, उधव रेग्मी, प्रदेश सचिव आरती भण्डारी, रौतहट जिल्ला अध्यक्ष सचितान्द साहसहितका नेताहरूले रामलाई पार्टीमा स्वागत गरे।
नेताहरूले रामको राजनीतिक अनुभव र स्थानीय विकासप्रतिको समर्पणलाई प्रशंसा गर्दै नेकपा एमालेमा उनको प्रवेशले पार्टी संगठनलाई अझ बलियो बनाउने धारणा व्यक्त गरे। उनीहरूका अनुसार रामको सांगठनिक दक्षता र नीतिगत स्पष्टता एमालेका लागि रणनीतिक लाभ हुने छ।
पार्टी परिवर्तन गर्दै अरुण कुमार रामले भने, “म राजनीतिक कर्ममा सिद्धान्त र व्यवहारबीचको दूरीप्रति सधैँ गम्भीर प्रश्न उठाउने गरेको मान्छे हुँ। पछिल्लो समय नेकपा ९एस० मा देखिएको नीति–विपरितको प्रवृत्तिले मलाई गम्भीर चिन्तित बनायो। अब म एमालेमार्फत जनताको चाहना र मद्धेसको समृद्धिको सपना पूरा गर्न चाहन्छु।”
रामको प्रवेशलाई मधेसकेन्द्रित राजनीतिमा विशेष रूपमा हेरिएको छ। उनी लामो समयदेखि मधेसमा जलवायु, वन संरक्षण र स्थानीय विकासमा क्रियाशील रहँदै आएका नेता हुन्। सामाजिक, जातीय र विकासका मुद्दामा स्पष्ट आवाज उठाउने उनको पहिचान रहेकाले उनी सँगै एमालेमा सामाजिक विविधता र सशक्त धारणा थपिएको विश्वास गरिन्छ।
एमालेका नेताहरूले रामको पार्टी प्रवेशलाई केवल एक व्यक्तिको आगमन नभएर मधेसमा पार्टीको सुदृढीकरणको संकेतका रूपमा व्याख्या गरेका छन्। अध्यक्ष चन्देश्वर मण्डलले भने, “रामजस्ता सशक्त नेताको साथ पाउँदा हामी मधेसमा एमालेलाई जनतासम्म पुर्याउने यात्रामा अझ उत्साहित भएका छौँ।”
प्रदेश सचिव आरती भण्डारीले रामको आगमन महिलामैत्री नेतृत्वको सुदृढीकरणसँग पनि जोडिएको बताइन्। “संगीता देवी राम स्वयं एक जनप्रतिनिधि हुन्। उनी र अरुणजीको सामूहिक प्रयासले बृन्दावन र आसपासका क्षेत्रमा समावेशी र सशक्त नेतृत्वको नमुना स्थापित हुनेछ,” उनले भनिन्।
रामको प्रवेशसँगै एमालेले मधेसमा समावेशी नेतृत्वको सन्देश दिन खोजेको देखिन्छ। मधेसी, दलित, महिला र युवा समुदायलाई समेटेर अघि बढ्ने रणनीतिमा एमाले सक्रिय देखिन थालेको छ। यसअघि पनि केही स्थानीय नेता र कार्यकर्ताहरू एमालेमा प्रवेश गरिसकेका थिए।
रामको आगमनसँगै बृन्दावन नगरपालिका र रौतहट जिल्लाको स्थानीय राजनीति नयाँ मोडमा प्रवेश गरेको छ। पार्टी प्रवेश कार्यक्रममा सहभागी स्थानीय नेताहरूले रामको सशक्त नेतृत्वले विकास, समृद्धि र सामाजिक न्यायको अभियानलाई थप गति दिने विश्वास व्यक्त गरे।
अरुण कुमार रामको नेकपा ९एमाले० मा प्रवेश मधेसको राजनीतिक समिकरणमा एउटा उल्लेखनीय घटना बनेको छ। नेकपा ९एस० को आधार मधेसमा नै कमजोर बन्दै गएको बेला, रामको जस्तो नेताको बाहिरिने निर्णयले समाजवादी पार्टीलाई चुनौती खडा गरेको छ भने एमालेलाई अवसर दिलाएको छ। आगामी दिनमा रामले पार्टीभित्र के कस्तो भूमिका लिन्छन्, त्यसले एमालेको मधेस नीति र सांगठनिक रणनीति कता मोडिन्छ भन्ने चित्र स्पष्ट हुने छ।