सर्लाही, गोडैता । गोडैता नगरपालिका–९ बकैनियामा पालिका स्तरीय कृषि तथा पशूपन्छी सेवा केन्द्रको भवन निर्माण सम्पन्न भई हस्तान्तरण गरिएको छ। नेपाल सरकारको कृषि तथा पशूपन्छी विकास मन्त्रालयअन्तर्गत ग्रामिण उद्यम तथा आर्थिक विकास आयोजना, आर्थिक करिडोर कार्यालय बर्दिवासको लगानीमा भवन निर्माण सम्पन्न गरिएको हो।
विजय सृजना भगत ग्रुप काठमाडौंले करिब २ करोड १७ लाख रुपैयाँमा एक वर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का पाएको उक्त भवन आज एक कार्यक्रमकाबीच गोडैता नगरपालिकालाई हस्तान्तरण गरिएको छ।
अपांगमैत्री र वातावरणमैत्री सुविधा सहितको भवनमा कृषि तथा पशूपन्छी सेवाका लागि छुट्टाछुट्टै प्रयोगशाला, पोस्टमार्टम कक्ष, कृत्रिम गर्भाधान, मृत पशु तथा जीवजन्तु विसर्जन कक्ष, मिटिङ हल लगायतका आधुनिक सुविधाहरू रहेको छ।
आर्थिक करिडोर कार्यालय बर्दिवासका प्रमुख राजेश साहका अनुसार, भवन हस्तान्तरणसँगै यसको सञ्चालन र कर्मचारी व्यवस्थापनको जिम्मेवारी स्थानीय तहकै हुनेछ। सेवा केन्द्र सञ्चालनका लागि आवश्यक पर्ने केमिकल एक वर्ष पुग्ने गरी उपलब्ध गराइएकाले त्यसपछि स्थानीय तहले आफ्नै बजेटमार्फत खरिद गर्नुपर्ने व्यवस्था गरिएको बताइयो।
करिडोरका कृषि अधिकृत सन्तोष कुमार यादवले मधेस प्रदेशका ८८ स्थानीय तहमध्ये २५ स्थानीय तहमा भवन निर्माण सम्पन्न भइसकेको जानकारी दिए।
कार्यक्रममा गोडैता नगरपालिकाका मेयर देवेन्द्र कुमार यादवले सेवा केन्द्र सञ्चालनले किसानलाई कृषिमा औषधिको प्रयोग, माटो परीक्षण, पशुपन्छीमा लाग्ने रोगको पहिचानमा सहज हुने बताए। कृषि प्रधान स्थानीय तहका रूपमा गोडैतामा यो सेवा केन्द्रले कृषिलाई आत्मनिर्भर बनाउन ठूलो सहयोग गर्ने अपेक्षा गरिएको उनको भनाइ थियो।
भवन हस्तान्तरण कार्यक्रम गोडैता नगरपालिकाका मेयर देवेन्द्र कुमार यादव, उपमेयर अञ्जना कुशवाहा, करिडोर कार्यालयका प्रमुख राजेश साह, वरिष्ठ कृषि अधिकृत डा। नन्दकिशोर यादव, निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रमोद पण्डित, वडाअध्यक्षहरू, कार्यपालिका सदस्य, स्थानीय जनप्रतिनिधि, किसानका अगुवा तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न भएको थियो।