तराई–मधेशका जिल्लाहरूमा पछिल्ला हप्ताहरूदेखि देखिएको चरम खडेरी र वर्षा अभावले जनजीवन सङ्कटग्रस्त बन्दै गएको छ। सर्लाहीको बलरा नगरपालिकाका नगरप्रमुख रामाशंकर प्रसाद कुशवाहाले आज प्रधानमन्त्रीलाई खुला पत्र लेख्दै तराई–मधेशमा फैलिएको सुख्खा संकटलाई ‘प्राकृतिक विपत्ति’ घोषित गर्न माग गरेका छन्।
नगरप्रमुख कुशवाहाले पत्रमार्फत भनेका छन्, “तराई–मधेश आज इतिहासकै एक जटिल प्राकृतिक संकटबाट गुज्रिरहेको छ। साउन महिनाको मध्यसम्म पनि वर्षा नहुनुले दिनानुदिन ट्युबवेल, इनार, कुँवा सुकिरहेका छन्, खेतबारी बन्जर बनेका छन्, र जनता प्यासले छटपटिन थालेका छन्।”
उनले मधेश सरकारले सुख्खा क्षेत्र घोषणा गरिसकेको र संघीय सरकारले पनि यसलाई विपद् संकटग्रस्त क्षेत्र मानेको भए पनि त्यो पर्याप्त नभएको जिकिर गरेका छन्। “घोषणा मात्र पहिलो पाइला हो, अब व्यवहारिक र राहतमुखी कदम चालिनु आवश्यक छ,” खुला पत्रमा उल्लेख गरिएको छ।
नगरप्रमुख कुशवाहाले संघीय र प्रदेश सरकारसमक्ष निम्न पाँच बुँदे माग अघि सारेका छन्:
१. तत्काल राहत घोषणा,
२. निःशुल्क पानी वितरण केन्द्र स्थापना,
३. खडेरी राहत कोषमार्फत विपन्न परिवारलाई सहायता,
४. सिंचाइ र वैकल्पिक जल स्रोतको आपूर्ति,
५. मोबाइल स्वास्थ्य टोली परिचालन।
“मधेशमा शीतलहर आउँदा मरिन्छ, बाढी आउँदा बगिन्छ, र अहिले वर्षा नआउँदा सुक्छ,” भन्दै उनले सरकारको ध्यान तत्काल व्यवहारिक कदमतर्फ जाओस् भन्ने आग्रह गरेका छन्।
नगरप्रमुख कुशवाहाले यो पत्रलाई ‘गुनासो’ नभई ‘जनताको आवाज’ भनेर परिभाषित गरेका छन् र प्रधानमन्त्रीको संवेदनशील नेतृत्वमा समस्या समाधान हुने अपेक्षा व्यक्त गरेका छन्।
यसअघि पनि बलरा नगरपालिका लगायत मधेशका विभिन्न पालिकाहरूले खडेरीका कारण कृषि, खानेपानी, र जनस्वास्थ्य क्षेत्रमा उत्पन्न संकटबारे चिन्ता व्यक्त गर्दै आएका छन्।