कटुवा पेस्तोल र गोलीसहित सर्लाहीमा युवक पक्राउ

newsdesk

सर्लाही, २० वैशाख — सर्लाही प्रहरीले हतियारसहित एक युवकलाई पक्राउ गरेको छ। पर्सा गाउँपालिका–२ स्थित रबी होटलबाट कटुवा पेस्तोल र गोलीसहित एक युवकलाई शनिबार अपराह्न प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय सर्लाही, मलंगवाबाट जारी गरिएको प्रेस विज्ञप्तिअनुसार, होटलमा हतियारसहित व्यक्तिको गतिविधि रहेको सूचनाका आधारमा प्रहरी चौकी नारायणपुरबाट खटिएको प्रहरी टोलीले उक्त युवकलाई नियन्त्रणमा लिएको हो। प्रहरी सहायक निरीक्षक किशोरी यादवको नेतृत्वमा खटिएको टोलीले अपराह्न साढे ५ बजे होटलबाट युवकलाई पक्राउ गरेको थियो।

पक्राउ पर्नेमा पर्सा गाउँपालिका–४ निवासी २३ वर्षीय दीपक साह रहेका छन्। उनको साथबाट एक थान कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने एक थान गोली बरामद गरिएको प्रहरीले जनाएको छ।

दीपक साहलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय, मलंगवा सर्लाहीको हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सरोज राईले जानकारी दिए।

प्रतिक्रिया