सर्लाहीमा भ्याट बिल नभएका सामानसहितको ट्रक नियन्त्रणमा

newsdesk

सर्लाही, १२ जेठ — सर्लाहीको बागमती नगरपालिका–१२ स्थित कर्मैया चेकपोष्टमा प्रहरीले भ्याट बिल तथा प्रज्ञापनपत्र नभएका सामानसहित एक ट्रक नियन्त्रणमा लिएको छ।

शनिबार बिहान ७:४५ बजे सशस्त्र प्रहरी नायब निरीक्षक (प्र.ना.नि.) सुभाष यादवको कमाण्डमा खटिएको प्रहरी टोलीले रुपन्देही बुटवलबाट मोरङतर्फ जाँदै गरेको प्र. ३-०१-००५ ख ९४६० नम्बरको ट्रक चेकजाँचका क्रममा रोकेको थियो।

जाँच गर्दा ट्रकमा जिरा पाउडर, कस्मेटिक सामग्री, टायर, हेलमेट, मोटर पार्ट्स, ब्याट्री, औषधी, मेसिन, हार्डवेयर सामान, किचेन सिंक लगायतका विभिन्न प्रकारका खुद्रा सामग्री पाइएका थिए। ती सामानहरू मध्ये धेरैको प्रज्ञापन पत्र नभएको र केहीको भ्याट बिल समेत शंकास्पद पाइएकाले ट्रकसहित सामानहरू नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, उक्त सामग्रीहरूको बजार मूल्य लगभग ४७ लाख ९७ हजार ५०१ रुपैयाँ रहेको छ। नियन्त्रणमा लिइएको ट्रक आवश्यक कारबाहीको लागि बिहान ९:१५ बजे राजश्व अनुसन्धान कार्यालय पथलैया, बारातर्फ पठाइएको इलाका प्रहरी कार्यालय कर्मैयाले जानकारी दिएको छ।

प्रतिक्रिया