राम विश्वास कुशवाहा, हरिवन–३, सर्लाही।
“संकटले ढाकेको रातले मात्र जीवनको उज्यालोलाई मूल्य दिन्छ।”
चार वर्ष पहिलेको कुरा हो। मेरो जीवनकै अविस्मरणीय दिन। त्यो दिन मेरो परिवारले मृत्यु र जीवनको दोभान पार गर्दै उज्यालोतर्फ यात्रा गरेको थियो।
श्रीमती सुत्केरी हुने मितिभन्दा १५ दिन अघि नै मैले राम्रो अस्पतालको खोजी सुरु गरिसकेको थिएँ। अन्ततः हामी भरतपुर अस्पताल चितवन पुग्यौं। सुरुमा सामान्य जाँच भयो, डाक्टरले अझै केही दिन पर्खन भन्नुभयो। तर हप्तापछि पुनः चेकजाँच गर्दा डाक्टरले गम्भीर खबर सुनाउनुभयो— “बच्चाले पेटभित्रै असामान्य प्रतिक्रिया देखाइसकेको छ, अब ढिला गर्न मिल्दैन, तुरुन्तै अपरेशन गर्नुपर्छ।”
त्यो क्षण मेरो र श्रीमतीको लागि संसार अन्धकारमा डुबेको जस्तै भयो। पहिलो सन्तान सजिलै जन्मिएको थियो, तर दोस्रो सन्तान अपरेशनमार्फत जन्माउनुपर्ने भएपछि श्रीमती ठूलो त्रासमा परिन्। म आफैँ पनि कहिल्यै घर–परिवारमा अपरेशन भएको सुनेको थिएन। डर, चिन्ता र प्रार्थना मात्रै थिए।
अपरेशन कक्ष बाहिर म आमासँग बसेर घन्टौ घण्टा भगवानलाई पुकारिरहेँ। सिनेमा जस्तै लागिरहेको थियो—“आमा बच्छिन् कि बच्चा?” दुई घण्टा बित्दा प्रत्येक सेकेन्ड भारी लाग्दै गयो। अन्ततः नर्सले खबर दिइन् “तपाईँ बुवा हुनु भयो।” त्यो सुन्दा हर्षले मन भरियो, तर तुरुन्तै अर्को प्रश्न आयो “श्रीमतीको अवस्था?”
नर्सको जवाफ थियो—“उनी अझै बेहोस छिन्, तर अवस्था स्थिर छ।”
तर वास्तविक कठिनाइ त्यहाँ सकिएको थिएन। जन्मेको केही घण्टामै श्रीमती बेहोस अवस्थामा रहेकोले पसलबाट पाउडरवाला दूध किनेर ल्याए ,नवजातले दूध पचाउन सकेन। जतिपटक चुसाउन खोज्दा पनि उल्टी हुन्थ्यो, शरीर कमजोर हुँदै गयो। श्रीमती अपरेशनको पीडामा थिइन्, म असहाय भएर दौडिरहेको थिएँ। बाबु हातमा भए पनि उसको ज्यान चिप्लिँदै गएको जस्तो लागिरहेको थियो।
रातिको समय थियो, डरले मन अडिन सकेन। डाक्टरले सल्लाह दिनुभयो—“यहाँ आईसीयू छैन, तुरुन्तै काठमाडौँको कान्ति बाल हस्पिटल लैजान सकिन्छ।” त्यो सुन्दा संसार फेरि भत्किएजस्तो भयो। श्रीमती आफैं अझै आईसीयूमा थिइन्, बच्चा भने कमजोर अवस्थामा।
यस्तो घडीमा मेरो साथमा आमाको धैर्य र आशीर्वाद नै ठूलो आधार बन्यो। आमाले निरन्तर प्रार्थना गर्दै, मलाई सम्हाल्दै, हिम्मत दिनुभयो। अपरेशनको पीडामा थिइन् मेरी श्रीमती, हल्का मात्रै होस् आएको थियो।तर उनले पनि हल्का मुस्कान देखाउँदै साहस देखाइन्। उनीहरूको धैर्य र ममताले मलाई बलियो बनाए।
कठिनाइ बावजुद पनि हामी त्यही भरतपुरमै रह्यौं। त्यहाँका डाक्टर–नर्सहरूले अथक प्रयास गरे, निरन्तर जाँच र औषधोपचारले बाबुको अवस्था विस्तारै सुधार हुँदै गयो। कान्ति हस्पिटल जाने तयारीसम्म भए पनि अन्ततः यहीँको उपचारबाट बच्चा जीवन पाउन सफल भयो।
हप्तौँको संघर्षपछि जब हामी घर फर्कियौँ, त्यो क्षण मेरो लागि भगवानको उपहार जस्तै थियो। श्रीमतीको धैर्य, नवजातको जीवनसँगको संघर्ष, आमाको प्रार्थना, डाक्टर–नर्सहरूको समर्पण—यी सबैले मलाई बुझायो, जीवन आँसु र पीडाले मात्रै बनेको होइन, विश्वास, माया र धैर्यले पनि बनेको हो।
आज २०८२ साल भदौ ३ गते—ठीक चार वर्षपछि—त्यो अन्धकार सम्झिँदा मन अझै काँप्छ। तर आजको भदौ ३ केवल पीडाको सम्झना मात्र होइन, यो मेरो बाबुको जन्मदिन पनि हो। बाबुको आशीर्वाद, अनुशासन र माया नै हाम्रो परिवारको वास्तविक शक्ति हो।
आज म भगवानप्रति, छोरा प्रति, आमाप्रति, डाक्टर–नर्सप्रति, र सबैभन्दा बढी मेरी श्रीमतीप्रति हृदयदेखि आभारी छु।
“जन्मदिनको शुभकामना बाबु! तिम्रो स्वास्थ्य र खुशी सधैं रहोस्। आमा—तपाईंको आशीर्वाद बिना त्यो संकट टारिन्थेन र श्रीमती तिम्रो ममता र साहस नै हाम्रो परिवारको उज्यालो हो, तिमीले दिएको पारिवारिक योगदान हामी कहिल्यै बिर्सने छैनौँ।”
अन्तमा जन्मदिनको हार्दिक शुभकामना बाबु।