बलरामा शतप्रतिशत विद्यार्थी भर्ना वार्ड घोषणा

newsdesk

‘शिक्षा सबैका लागि’ भन्ने नाराका साथ बलरा नगरपालिका वडा - ७ मा शतप्रतिशत नामांकन घोषणा अभियान भव्य रूपमा सम्पन्न गरिएको छ। अभियान अन्तर्गत पठन योग्य उमेर ४ देखि १२ वर्ष समूहका सबै बालबालिकालाई विद्यालयमा भर्ना गरिँदै शतप्रतिशत नामांकन सुनिश्चित गरिएको छ।

यस अभियानमा आरआरपिकेका फील्ड सुपरभाइजर राकेश कुमार ठाकुरको नेतृत्वमा टोलीले घर–घर पुगेर बालबालिकाको विवरण संकलन गरी विद्यालय भर्ना सुनिश्चित गरेका थिए। साथै नामांकन र जागरुकता र्यालीमा पनि आरआरपिकेका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै बलरा नगरपालिकाका मेयर रामाशंकर प्रसाद कुशवाहाले वडा नं। ७ मा शतप्रतिशत नामांकन हुनुलाई उत्साहजनक उपलब्धि भएको बताउँदै यस कार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए। उहाँले नगरका अन्य वडाहरूमा पनि यस्तै अभियान चलाएर सम्पूर्ण नगर क्षेत्रभित्र शतप्रतिशत भर्ना सुनिश्चित गर्नुपर्नेमा जोड दिए।

मेयर कुशवाहाले शिक्षा क्षेत्रमा स्थानीय सरकारले हालसम्म कुल बजेटको ४० प्रतिशत लगानी गर्दै आएको जानकारी गराउँदै अब यो बजेट ६० प्रतिशतसम्म पुर्‍याउने योजना रहेको बताए। विद्यालयमा शिक्षक अभावको विषयमा बोल्दै उनले कक्षा ६ देखि १० सम्मका विद्यालयमा विषयगत स्वयंसेवक शिक्षक नियुक्त गरिने पनि घोषणा गरे।

कार्यक्रममा आरआरपिके, वडा कार्यालय, स्थानीय विद्यालयहरू तथा अन्य सरोकारवालाको संयुक्त सहकार्य रहेको थियो। सहभागीहरूलाई आरआरपिके तर्फबाट ‘माया को चिनो’, प्रशंसा पत्र र गम्छा प्रदान गरियो। विद्यालयहरूद्वारा खाजापानी, प्रशिक्षण हल लगायत अन्य व्यवस्थापनमा पनि सहयोग प्रदान गरिएको थियो।

कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष प्रविण कुमार सिंहले गरेका थिए भने प्रमुख अतिथिको रूपमा नगरप्रमुख रामाशंकर प्रसाद कुशवाहा सहभागी थिए। विशिष्ट अतिथिको रूपमा अनिल प्रसाद सिंह, राष्ट्रिय रोजगार केन्द्रका अध्यक्ष गायत्री देवी महतो, उद्योग वाणिज्य संघका अध्यक्ष अवध किशोर झा लगायत अन्य समाजसेवीहरूको उपस्थिति रहेको थियो।

स्थानीयस्तरमै शिक्षा अभियानको यस्तो भव्य आयोजना हुँदै जानुले सर्लाहीको शिक्षाक्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने विश्वास गरिएको छ।


प्रतिक्रिया