भारतसँग सिमाना जोडिएका सर्लाहीका विभिन्न नाकाबाट यतिखेर ठूलो परिमाणमा तस्करी कार्य निर्वाध रूपमा चलिरहेको खुलेको छ।
विशेषगरी ब्रम्हपुरी गाउँपालिकाको त्रिभुवननगर र सखुअवा नाका हुँदै भारतबाट कपडा, रेडिमेड, किराना सामान, मोटरसाइकल स्पेयर पार्ट्स, हार्डवेयर र सुर्तीजन्य वस्तुहरू अवैध रूपमा नेपाल भित्र्याइँदै आएको छ भने, नेपालबाट लसुन, मरिच, चाइनिज स्याउलगायतका वस्तुहरू भारत पठाइँदै आएका छन्।
स्थानीय बासिन्दाहरूका अनुसार तस्करीमा संलग्न व्यापारीहरूले सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय सुरक्षा निकायका पदाधिकारीसँग साँठगाँठ गरी राजस्व छलीका गतिविधि सञ्चालन गर्दै आएका छन्।
भारतको सोनबरसा इनर्वा हुदै नेपालको सखुआवा नाका भएर नोकेल्वा हुँदै नाढीमन भएर बयलवास पुग्ने गरेका छन।
त्रिभुवननगर नाकाबाट सामान ल्याउने व्यापारीहरूले भारतको सोनबरसा बजारबाट सामान उठाएर नदीको एउटा सानो पुल पार गर्नुपर्ने भएकाले तस्करी सहज भएको बताएका छन्।
त्यो नाकाबाट महिला र बालबालिकामार्फत टाउकोमा, मोटरसाइकल वा साइकल प्रयोग गरी सामान सीमा पार गरिन्छ। त्यसपछि सीमाक्षेत्रमा भण्डारण गरी राति नेपालको भित्री बजारमा पठाइने गरेको स्रोतले बताएको छ।
स्थानीयहरूले यस तस्करीमा सशस्त्र प्रहरी सखुवा बीओपीका इन्चार्ज बाबुराम गैरे, नोकैल्वा अस्थायी प्रहरी चौकीका इन्चार्ज महेन्द्र चौधरी र आफूलाई ‘डीआईजीको घुमुवा’ बताउने सहायक हवलदार जयनन्दन यादवको संलग्नता रहेको गम्भीर आरोप लगाएका छन्।
त्रिभुवननगर र सखुअवा नाकाका प्रहरीबीचको आर्थिक साँठगाँठ र लेनदेनका कारण दैनिक लाखौँ रुपैयाँ बराबरको राजस्व राज्यले गुमाइरहेको जनाइएको छ।
सर्लाहीका अधिकांश सीमा नाकामा यस्तै तस्करी गतिविधि चलिरहेको र सुरक्षानिकाय नै आर्थिक चलखेलमा संलग्न भएकाले नियन्त्रण प्रयास कमजोर रहेको स्थानीयहरूको भनाइ छ।
यस विषयमा एक सुरक्षाधिकारीले भने, “हामी सीमा चुहावट नियन्त्रणका लागि चौबीसै घण्टा खटिएका छौँ।
तर भारतसँग खुला सीमा भएकाले निगरानीका बाबजुद केही सामान पस्ने समस्या रहन्छ,” भन्दै आफ्नो तर्फबाट सर्वोत्तम प्रयास भइरहेको दाबी गरे।