लघुकथा : बाजेको रहर

newsdesk

 कुनै ठाउँमा हरिलाल नामका एकजना सरल र मिहिनेती शिक्षक बस्थे। जीवनभर विद्यार्थीलाई पढाउँदै, ज्ञान बाँड्दै उहाँले बिताउनु भएको थियो। छोरीको विवाह भएपश्चात् उहाँलाई नाति नातिनी हुने रहर झन् बढेको थियो। केही वर्षमै उहाँलाई दुईटा नाति भए—ठूलो प्रदीप र सानो प्रशान्त।

नातिहरू पाउँदा हरिलालको जीवनमा नयाँ रौनक आयो। बिहान बेलुकी प्रदीप र प्रशान्तसँग खेल्ने, उनीहरूको हरेक शरारतलाई सहने, कहिले झकझक्याउने त कहिले गोदमा खेलाउने—यही उहाँको दिनचर्या बन्यो। नातिले बाजे भनेपछि उहाँको अनुहारमा आउने मुस्कान हेरिरहनलायक हुन्थ्यो।

एकदिन प्रदीपको जन्मदिन आयो। त्यो दिनलाई विशेष बनाउन हरिलालले निकै तयारी गर्नुभयो। "मेरो नाति पढाइमा राम्रो गर्छ, ठूलो भएर ठूलो मान्छे बन्छ," भन्ने गर्वयुक्त भावनाले उहाँको मन भरिएको थियो। उहाँले प्रदीपलाई उपहारमा नयाँ साइकल दिनुभयो। प्रदीप साइकल पाएर उत्साहले झुम्यो। छरछिमेकी, आफन्त सबैलाई बोलाएर हरिलालले ठूलो कार्यक्रम गरेर जन्मदिन मनाउनुभयो।

दिन बित्दै गए। प्रदीप पढाइमा अझै जेहेन्दार हुँदै गयो। "बाजे, म ठूलो भएर तपाईंलाई गर्व गराउने काम गर्छु," भन्दै ऊ सधैं प्रतिबद्धता व्यक्त गर्थ्यो। विद्यालयमा उसले राम्रो अंक ल्याउन थालेपछि गाउँकै सबैले "हरिलाल सरको नाति त साँच्चिकै बाजेझैँ बुद्धिमान् रहेछ" भनेर तारिफ गर्थे।

तर, अर्कोतर्फ प्रशान्त अलिक फरक स्वभावको थियो। ऊ सधैं चकचक गर्ने, रमाइला तरिका अपनाउने। कहिले चकलेट माग्ने, कहिले नयाँ खेलौना ल्याइदेऊ भनेर बाजेलाई तंग्याउने। कहिलेकाहीँ त प्रदीप साइकल चढ्न खोज्दा बीचैमा कुर्कुच्चा अड्याएर झन् झगडा गर्ने। तर, हरिलाललाई यी कुराले असुविधा दिँदैनथे। उहाँ भन्थे, "सानो छ, यो पनि ठुलो भएपछि ठुलो दाजु जस्तै भइहाल्छ।"

एकदिन प्रदीप आमासँग माइती गएको थियो। बाजे एक्लै भए। प्रशान्तले सो अवसरमा बाजेलाई अझ बढी तंग्यायो—"बाजे, मलाई त्यो कुखुराको बच्चा चाहिन्छ", "बाजे, मलाई अबै टाढाको बजार लैजानुपर्छ", "बाजे, मलाई राति पर्‍यन्त कार्टुन देखाइदिनुपर्छ।" यति माग सुनेर पनि हरिलाल मुस्कुराउँदै भन्थे, "तँ नि साँच्चिकै मेरो नानी हो रे।"

समयसँगै प्रदीप र प्रशान्त दुवै बढ्दै गए। प्रदीप पढाइमा नाम कमाउँदै गयो भने प्रशान्त खेलकुदतर्फ आकर्षित भयो। सुरुमा चकचक गर्ने बानीले सबैलाई झन्झटमा पारे पनि पछि उसले आफ्नो उर्जा खेलमै खर्च गर्न थाल्यो। विद्यालयस्तरीय प्रतियोगितामा जित्न थालेपछि गाउँलेहरूले भन्न थाले, "हरिलाल सर भाग्यमानी रहेछन्, एक नाति पढाइमा नाम निकाल्छ, अर्को खेलकुदमा।"

हरिलाल बुढ्यौलीतिर ढल्किनुभयो। शरीर अलि कमजोर भए पनि मन अझै नातिहरूले भरिएको रह्यो। एक दिन विद्यालयमा प्रदीपले पुरस्कार जितेर बाजेलाई ल्याएर "यो तपाईंलाई समर्पण हो" भन्यो। अर्कोतर्फ प्रशान्तले पनि राष्ट्रिय स्तरको खेलमा जितेपछि पुरस्कार लिएर बाजेको हातमा राखिदियो।

हरिलालको आँखाबाट अश्रु बग्यो। उहाँले कम्पित स्वरमा भन्नुभयो—

"मेरो जीवनमा मैले ठूलो सम्पत्ति छोड्न सकेन, तर यी दुई नाति नै मेरो गर्वका धरोहर हुन्। अब म ढुक्क छु, मेरो रहर पूरा भयो।"

लेखक: रामविश्वास कुशवाहा, हरिवन, सर्लाही ।

प्रतिक्रिया