काठमाडौँ, १८ कात्तिक। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले सरकारले यातायात र भान्छालाई विद्युतीकरणमा रूपान्तरण गर्न गम्भीरतापूर्वक काम गरिरहेको बताएका छन्।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र (AEPC) को २९औँ वार्षिकोत्सवमा आज बोल्दै मन्त्री घिसिङले विद्युतीय सवारी साधनको प्रयोग बढ्दै गएको र ग्यासलाई विस्थापित गरेर इन्डक्सन वा वैकल्पिक ऊर्जाको प्रयोगलाई प्रवद्र्धन गर्न सरकार अग्रसर रहेको बताए।
उनले चार्जिङ स्टेशन विस्तारका लागि नीति संशोधनको तयारी भइरहेको उल्लेख गर्दै सिँचाइमा सौर्य ऊर्जाको प्रयोगलाई प्रभावकारी बनाउन कार्ययोजना तयार पारिरहेको जानकारी दिए।
हावाबाट बिजुली उत्पादन (विन पावर) मा निजी क्षेत्रको सहभागिता न्यून रहेको उल्लेख गर्दै मन्त्री घिसिङले इच्छुक लगानीकर्तालाई सरकार सहयोग गर्न तयार रहेको बताए।
उनले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले विकट क्षेत्र र विपन्न समुदायमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै अझ प्रभावकारी कार्य गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा ऊर्जा सचिव चिरञ्जीवी चटौतले केन्द्रले जलवायु परिवर्तनको असर घटाउने, ऊर्जा दक्षता बढाउने र कार्बन उत्सर्जन कटौतीमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले हाल १३६ स्थानीय तहसँग सहकार्यमा केन्द्रले सौर्य ऊर्जा, सिँचाइ, खानेपानी, सुधारिएको चुलोलगायत क्षेत्रमा काम गरिरहेको जानकारी दिए। उनले हालसम्म ८ वटा कार्बन उत्सर्जन कटौती परियोजनाबाट ३६ मिलियन अमेरिकी डलर आम्दानी भएको बताए।
ढकालका अनुसार केन्द्रले पाँच वर्षभित्र १० लाख घरधुरीमा पहुँच पुर्याउने र हालसम्म ४० हजार रोजगारी सिर्जना भएको छ।
कार्यक्रममा मन्त्री घिसिङले सौर्य तापीय मार्गचित्र तथा कार्यान्वयन योजना सार्वजनिक गरे। सो अवसरमा रक्तदान कार्यक्रम पनि सम्पन्न भएको थियो।