गोडैता घटनाप्रति जनमत पार्टी सर्लाहीको विरोध, निष्पक्ष छानबिन र कडा कारबाहीको माग

trinetraexpress

मलंगवा,  — जनमत पार्टी सर्लाहीले हालै गोडैता नगरपालिकामा भएको जातीय र धार्मिक आधारमा सृजित भनिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै तीव्र विरोध जनाएको छ।

आज सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टीले उक्त घटनालाई निन्दनीय र भर्त्सनायोग्य भन्दै दोषीहरूलाई कडा कानुनी कारबाही गर्न माग गरेको हो।

प्रेस विज्ञप्तिमा पार्टीले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि विभिन्न आन्दोलनहरूमा शहादत प्राप्त गर्ने शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै वर्तमान समयमा सर्लाही क्षेत्र नं. ४ मा जातीय, सामुदायिक तथा धार्मिक विभाजन सृजना गरी राजनीतिक लाभ लिने प्रयास भइरहेकाप्रति चिन्ता व्यक्त गरेको छ।

"गोडैता नगरपालिकाको हुलाकी सडकमा घटेको पछिल्लो घटनाले समाजमा आतंकको वातावरण सिर्जना गर्न खोजिएको स्पष्ट देखिन्छ," विज्ञप्तिमा भनिएको छ, "शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षाका विषयमा जनताको ध्यान नजान दिई द्वन्द्व र डर फैलाउने काम खेदजनक छ।"

पार्टीका जिल्ला इन्चार्ज श्रीचन यादवले हस्ताक्षर गरेको विज्ञप्तिमा घटनाको निष्पक्ष छानबिन गरी संलग्नहरूलाई हदैसम्मको कानुनी सजाय दिन सरकारसँग माग गरिएको छ।

जनमत पार्टीले राजनीतिक द्वन्द्व होइन, समाजमा शान्ति, सद्भाव र विकासको खाँचो रहेको बताउँदै आगामी दिनमा यस्ता घटनालाई सघन रूपमा प्रतिवाद गरिने चेतावनी पनि दिएको छ।

प्रतिक्रिया