मतदाता नामावलीमा सीमितता, बायोमेट्रिक्स प्रणाली सहज बनाउन संयोजक रक्षा बमको माग

newsdesk

काठमाडौं । यही फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनका तयारी स्वरूप निर्वाचन आयोगले देशभर मतदाता नामावली सङ्कलन कार्य तीव्र रूपमा सञ्चालन गरिरहेको छ । तर मतदाता दर्ता प्रक्रिया जटिल र पहुँचहीन बन्दै गएको भन्दै नागरिक स्तरबाट असन्तुष्टि बढ्दै गएको छ ।

यसै सन्दर्भमा संयोजक रक्षा बमले आज एक प्रेस विज्ञप्ति जारी गर्दै, आयोगले अपनाएको बायोमेट्रिक्स प्रणालीका कारण धेरै नागरिक, विशेषगरी युवा पुस्ता मतदाता दर्ताबाट बञ्चित हुन लागेको बताएका छन् ।

विज्ञप्तिमा उल्लेख गरिएअनुसार, मतदाता नामावलीमा नाम दर्ता गर्न बायोमेट्रिक्सका लागि जिल्ला सदरमुकाम पुग्नुपर्ने बाध्यताले ग्रामीण तथा टाढाका नागरिकका लागि समस्या उत्पन्न गरेको छ । आयोगले कार्त्तिक ३० गतेसम्म नयाँ दर्ता गर्न सकिने जनाएको भए पनि अब केवल ९ दिन मात्र बाँकी रहँदा हालसम्म जम्मा १ लाख ३६ हजार नयाँ मतदाता मात्र दर्ता भएको तथ्याङ्कले यो प्रणालीको सीमितता देखाएको बताइएको छ ।

रक्षा बमका अनुसार, यस्तो अवस्था रहँदा निर्वाचनले जेन-जी पुस्ता र नयाँ मतदाताको मर्म समेट्न नसक्ने जोखिम बढेको छ । लोकतन्त्रलाई सुदृढ बनाउन सकेसम्म धेरै नागरिकको मताधिकार सुनिश्चित गर्नु आवश्यक रहेको उनले बताए ।

उनले नेपाल सरकार र निर्वाचन आयोगसमक्ष राष्ट्रिय परिचयपत्रको तथ्याङ्कका आधारमा मतदान केन्द्रमै बायोमेट्रिक्स रुजु गरेर मतदान गर्न सकिने व्यवस्था मिलाउन जोडदार माग गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, “राष्ट्रिय परिचयपत्रमार्फत नागरिकले एकपटक बायोमेट्रिक्स विवरण दिइसकेका हुन्छन् । त्यसकै आधारमा मतदान गर्न दिने हो भने फर्जी मतदानको समस्या पनि कम हुन्छ र मतदातालाई समेत सहजता मिल्छ।”

संयोजक बमले जनमुखी र समाधानमुखी कदम चाल्न निर्वाचन आयोग र नेपाल सरकारसँग अपिल गर्दै लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउन सबै पक्ष गम्भीर हुनुपर्ने बताए ।


प्रतिक्रिया