सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–३, सिमरा भगवतीपुरले जयपुरदेखि बहादुरपुरसम्म पर्ने सडक खण्डमा रहेका अवैध संरचना सात दिनभित्र खाली गर्न सूचना जारी गरेको छ ।
वडा कार्यालयले २०८२ साल कात्तिक १७ गते प्रकाशित सूचनामार्फत सो क्षेत्रमा सडक र नाला निर्माण कार्य हुन लागेको जनाउँदै, सडकभित्र पर्ने घर, टहरा, पसल, छप्पर, गोबरलगायतका संरचना सात दिनभित्र हटाउन अनुरोध गरेको हो।
वडा अध्यक्ष विजय प्रसाद यादवद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, “निर्माण कार्यमा अवरोध नआओस् भन्ने उद्देश्यले प्रभावित क्षेत्रका सरोकारवालाले तोकिएको अवधिभित्र संरचना हटाई सहयोग गर्न अनुरोध गरिएको छ।“
सूचनामा थप चेतावनी दिइएको छ कि तोकिएको समयसीमाभित्र संरचना नहटाए कानूनी प्रावधानअनुसार जबर्जस्ती खाली गराइनेछ।
गोडैता नगरपालिका–३ का अनुसार सडक र नाला निर्माण कार्य पूरा भएपछि सो क्षेत्रको यातायात, सरसफाइ र स्थानीय बासिन्दाको आवतजावतमा सहजता आउने अपेक्षा गरिएको छ।