चन्द्रनगरको बबरगंजमा भव्य झिझिया प्रतियोगिता

newsdesk

सर्लाही। सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नं. २ बबरगंजमा परम्परागत झिझिया नृत्यलाई संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले झिझिया प्रतियोगिता निरन्तर रुपमा चलिरहेको छ । स्थानीय दुर्गा पूजा समितिको आयोजनामा सुरू गरिएको यो प्रतियोगिता घटस्थापनाका दिनदेखि निरन्तर सञ्चालन हुँदै आएको र आज राति समापन हुने आयोजकले जनाएको छ। 

झिझिया हमर धरोहर हई नकी नाच तमासा  अर्थात झिझिया हाम्रो धरोहर हो खेल तमासा देखाउने नृत्य होइन मुल नाराका साथ घटस्थापनाका दिन देखि नै सुरु गरिएको छ ।

आयोजकले कम्तिमा ५ जना र बढीमा ९ जना, टाउकोमा झिझिया अनिवार्य हुने, झिझिया गितमा मात्र नृत्य गर्न पाउने, सांस्कृतिक पोसाक अनिवार्य लगाउने नियम बनाएको दुर्गा पुजा समिति अध्यक्ष अशोक महतोले जानकारी दिनुभयो ।

दुर्गा पूजा समितिका अध्यक्ष अशोक महतोका अनुसार यी नियमहरूले प्रतियोगितालाई अझै व्यवस्थित र परम्परागत शैलीमा सञ्चालन गर्न सहयोग पुर्‍याउनेछन्।

यसैगरी झिझिया नृत्यमा सहभागी भएका हरेक समुहलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने दुर्गा पुजा समितिले  जनाएको छ ।

समितिका अर्का प्रतिनिधि सपेन्द्र ठाकुरले भन्नुभयो, “हाम्रो उद्देश्य जित–हार भन्दा पनि संस्कृति जोगाउनु हो, त्यसैले सबैलाई सम्मानपूर्वक सहभागिता सुनिश्चित गरिएको छ।”

बबरगंजका युवा नातेश्वर सिंहका अनुसार झिझिया प्रतियोगिता विगत दुई वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको छ। यसले स्थानीय युवामा सांस्कृतिक चासो बढाएको मात्र होइन, पुराना पुस्ताले देखाएको बाटो पछिल्लो पुस्तासम्म पुर्‍याउने काम गरेको छ।

स्थानीयवासीका अनुसार झिझिया नृत्य प्राचीनकालदेखि हिन्दू धर्मावलम्बी विशेष गरी दुर्गा पूजाको अवसरमा नचाइँदै आएको मौलिक संस्कृति हो। आधुनिक प्रविधि र मनोरञ्जनका नयाँ माध्यमले गर्दा परम्परागत संस्कृतिहरू हराउँदै गएको अवस्थामा बबरगंजमा गरिएको यस्तो प्रयास प्रशंसनीय रहेको उनीहरूको भनाइ छ।

यसरी, बबरगंजमा सुरु भएको झिझिया प्रतियोगिता केवल मनोरञ्जन मात्र नभई संस्कृति संरक्षण र सामाजिक ऐक्यबद्धताको एउटा उदाहरणका रूपमा स्थापित भएको छ।

प्रतिक्रिया