सर्लाही । सर्लाही जिल्लाको हरिपुर्वा नगरपालिका–१ हर्दी खोलामा माटो खन्ने क्रममा ढिस्को खस्दा चार जनाको मृत्यु भएको छ ।
मिति २०८२ असोज १५ गते बिहान करिब ९ः२० बजे सो घटना भएको हो । प्रहरीका अनुसार खुर्पाले माटो खन्ने क्रममा अचानक ढिस्को खस्दा चार जना व्यक्ति त्यसैमा पुरिएर गम्भीर घाइते भएका थिए ।
घटनापछि प्रहरी निरीक्षक बालिस्टर सिंहको कमाण्डमा खटिएको टोलीले घाइतेलाई उद्धार गरी तत्कालै प्रादेशिक अस्पताल मलंगवा पठाइएको थियो । तर उपचारका क्रममा बिहान १०ः४५ बजे अस्पतालले चारै जनालाई मृत घोषणा गरेको हो ।
मृतकहरुको विवरण यसप्रकार छ :
१. सायदा खातुन (६५ वर्ष) – बेधु मंसुरकी पत्नी, स्थायी ठेगाना : सोनमा गाउँपालिका–६, मगरथाना, महोत्तरी ।
२. सविवा खातुन (६ वर्ष) – उदय मंसुरकी छोरी ।
३. डिल्लु मंसुर (८ वर्ष) – अल्लाउदिन मंसुरका छोरा ।
४. नर्गिस खातुन (९ वर्ष) – नसरुल शेखकी छोरी ।
उनीहरू सबै महोत्तरी सोनमा गाउँपालिकाका बासिन्दा रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।