मलंगवा, सर्लाही प्रहरीले १० ग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा बागमती नगरपालिका–८ निवासी ३० वर्षीय अरुण लामा र धनुषाको धनुषाधाम नगरपालिका–७ निवासी ३० वर्षीय सनम लामा रहेका छन्।
विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोस्ट सोल्टीबजार र इलाका प्रहरी कार्यालय बरहथवाको संयुक्त टोलीले अरुण लामाको घरमा खानतलासी गरेको थियो। सो क्रममा घरमा लुकाइछिपाइ राखिएको अवस्थामा ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ फेला परेपछि दुवै जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीले उनीहरूको साथबाट प्लास्टिकसहित अन्दाजी १० ग्राम ब्राउन सुगर, तीन थान एन्ड्रोइड मोबाइल फोन, नगद नेपाली रुपैयाँ २३ हजार ७७० र भारतीय रुपैयाँ ९०० बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक वेद प्रसाद गौतमका अनुसार पक्राउ परेका दुवै जनाविरुद्ध लागुऔषध सम्बन्धी मुद्दा दर्ता गरिएको छ। साथै, सर्लाही जिल्ला अदालत बाट ७ दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान अघि बढाइएको छ।
घटनाबारे इलाका प्रहरी कार्यालय बरहथवाले विस्तृत अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।