सर्लाहीमा समाजसेवी मुनेश्वरी देवीप्रति श्रद्धाञ्जली

newsdesk

राम विश्वास कुशवाहा सर्लाही, ३१ भदौ — नेपाल कुशवाहा कल्याण समाज जिल्ला कार्यसमिति, सर्लाहीले समाजसेवी श्री हरिशचन्द्र महतोको आमा स्व. मुनेश्वरी देवीको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ।

स्व. मुनेश्वरी देवी सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका–१४, महारानी बजार निवासी हुनुहुन्थ्यो। उहाँ जीवनभर समाजसेवी काममा सक्रिय रहनुहुन्थ्यो र स्थानीय स्तरमा सामाजिक योगदान गर्दै आएको व्यक्तित्व हुनुहुन्थ्यो। उहाँको समाजप्रति समर्पण र सेवा भावलाई स्मरण गर्दै श्रद्धाञ्जली कार्यक्रम उहाँकै निजी निवासमा तेह्रौँ तिथिको दिन सम्पन्न भएको थियो। कार्यक्रममा श्रद्धाञ्जली पत्र समाजका जिल्ला अध्यक्ष लक्ष्मण कुशवाहाको हातबाट सम्पूर्ण सहभागीको संयुक्त रूपमा अर्पण गरिएको थियो।

सो अवसरमा नेपाल कुशवाहा कल्याण समाजका केन्द्रीय सदस्य रामचन्द्र कुशवाहा, जिल्ला अध्यक्ष लक्ष्मण कुशवाहा, जनज्योति बहुमुखी प्राविधिक शिक्षालयका प्राध्यापक तथा जिल्ला सचिव वीरेन्द्र कुशवाहा, बुद्धिजीवी समाजका केन्द्रीय उपमहासचिव आलोक कुशवाहा तथा कुशवाहा बुद्धिजीवी सेवा समाज जिल्ला समन्वय समिति सर्लाहीका अध्यक्ष रामविश्वास कुशवाहा सहित समाजका अन्य पदाधिकारी र स्थानीयवासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले मौनधारण र पुष्पाञ्जलि अर्पण गर्दै दिवंगत आत्माप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए।

कार्यक्रमका वक्ताहरूले मुनेश्वरी देवीले समाज र परिवारप्रति देखाउनुभएको समर्पण र योगदानको चर्चा गर्दै उहाँको निधनले ठूलो क्षति पुगेको उल्लेख गरे। साथै, शोकसन्तप्त परिवारप्रति एक मिनेट मन धारण गरी समवेदना व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको प्रार्थना गरिएको थियो।

प्रतिक्रिया