राम विश्वास कुशवाहा , हरिवन -३,सर्लाही।
नागपञ्चमी श्रावण शुक्ल पक्षको पञ्चमीका दिन मनाइन्छ । यस दिनमा नागको पूजा गर्ने गरिन्छ। नागपञ्चमी एक श्रद्धा र विश्वासको पर्व हो । यस दिनमा नागको साथै नाग धारण गर्ने भगवान् भोलेनाथको पूजा आराधना पनि गरिन्छ । नागपञ्चमीको दिन नागको चित्रमा दुध, दही, अक्षता, फुल, दुबो राखी गाईको गोबरको सहायताले घरको ढोका माथि अष्टनागको चित्र टाँस्ने गरिन्छ । यस दिनदेखि वर्षायाम समाप्त भई हिउँदयाम सुरू भएको पनि मान्ने गरिन्छ ।
नागका अष्टकुल अर्थात् अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंखनाग गरी अष्टनागको चित्र टाँस्नाले उक्त घरमा चट्याङ नपर्ने तथा आगो र सर्पको डरसमेत नहुने धार्मिक विश्वास रहेको छ । ज्योतिषशास्त्रअनुसार पञ्चमी तिथिका स्वामी नाग देवता हुन् । पातालमा नाग देवताको बसोबास हुने र भूमि खन्दा नागलाई कष्ट हुने भएकाले नागपञ्चमीका दिन भूमिमा हलो जोत्नु वा जग राख्नु शुभ हुँदैन भन्ने धार्मिक मान्यता रहेको छ । नेपाल बहुजाति, बहुभाषी र बहुसंस्कृति भएको मुलुक हो ।
नेपाली संस्कृतिमा मानिसको मात्र होइन पशुपन्छी र जीवजन्तुको पनि उत्तिकै महत्वपूर्ण स्थान रहेको छ । विभिन्न चाडपर्व, जात्रा नेपाली समाजको पहिचान हो । यस्ता विशेष पर्वहरूमध्ये नागपञ्चमी पनि एउटा पर्व मानिन्छ । हरेक श्रावण शुक्लपक्ष पञ्चमीलाई हिन्दू धर्मालम्बीहरूले नागपञ्चमीको रूपमा मनाउँछन् नागलाई सहकालको देवताको रूपमा मानिन्छ । नाग प्रसन्न भएमा पानी पर्छ भनिन्छ । त्यसैले पानीको मूल फुट्दा पानीसँगै कहिलेकाहीँ नागहरू पनि देखिन्छन् ।
हाम्रो समाजमा नागसम्बन्धी विभिन्न कथा कहानीहरू सुन्न पाइन्छ । यदि पानीको मुहान वरपर फोहर गरेमा घाउ खटिरा आउँछ भन्ने मान्यता रहेको छ । त्यसैले नागलाई विशेषरूपमा पूजिन्छ । यसरी नागको पूजा गर्दा अगस्त्य, पुलस्त्य ऋषिहरूलाई पनि सम्झना गर्नुपर्ने धार्मिक मान्यता रहेको छ । हिन्दू धर्म र संस्कारअनुसार प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागपूजा गरी नागपञ्चमी मनाउने प्रचलन रहेको छ । नाग अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंखनागको नागपञ्चमीकै दिन पूजाआराधना गरिन्छ । यस दिन बिहानै उठी स्नान गरी दीप, कलश, गणेश स्थापना गरी गोबरको नाग बनाई पूजाआजा गरिन्छ । आजको दिनमा विभिन्न नागको बासस्थान भएका स्थानहरु पोखरी, पानी भएको कुवा इनारमा गएर पूजा गर्ने चलन छ ।
प्रकृतिमा भएको विषाक्त तत्वहरुलाई आफूमा ग्रहण गरेर प्राकृतिक सन्तुलनलाई कायम राख्दछ । प्राचीनकालदेखि नै नेपालमा नागपूजा गरी नागपञ्चमी मनाउँदै आएको पाइन्छ ।
भगवान् शंकरले गहनाको रुपमा र भगवान् विष्णुले शैयाको रुपमा प्रयोग गर्ने नाग लाई बौद्ध धर्ममा उत्तिकै श्रद्धाका साथ पूजिन्छ । पञ्चध्यानी बुद्धहरुमध्ये उत्तर दिशाका अमोघशिद्धि नागफणाद्धारा रक्षित हुन्छन् । नागपञ्चमी दिन भएकाले सनातन धर्मावलम्बीले आ–आफ्नो घरको मूल ढोकामा नाग टाँस्छन् । नागपञ्चमीमा दीप, कलश र गणेश पूजा गरी गाईको गोबरको नाग बनाई नागको मानचित्रमा गाईको दूध, दही, दुबो, कुश, सिन्दूर, चन्दन, रङ्गीविरङ्गी फूल, फलफूल, प्रसाद आदि चढाएर पूजा गरी ढोकामा टास्नाले सर्पको भय हुँदैन भन्ने विश्वासमा नागको पूजा गरिन्छ ।
पुराणमा कश्यपकी पत्नी कद्रुका सन्तान मानिएका वासुकी, तक्षक, कुलिक, कर्कटक, पद्य, शंखचुड, महापद्य र धनञ्जय नामका आठ नाग छन् । श्रावण महिनाको पञ्चमी तिथि नागहरूको पूजा गरिने र कागजमा नागका चित्र लेखेर वा छापेर घरघरमा टाँसिने दिन श्रावण शुक्ल पञ्चमीको दिन नागपञ्चमी हो । घस्रेर हिँड्ने लम्बाकार विषालु कीरो, सर्पलाई नाग पनि भनिन्छ । श्रावण महिना नागको मालाधारी भगवान् शिवको पूजा गरिने महिना हो । यो महिनामा पर्ने सोमबार बोलबम नारासहित भगवान् शिवको पूजा गरिन्छ । पौराणिक परम्पराअनुसार नागले बास गर्ने जलाशय नाग बस्ने दहलाई नागदह भनिन्छ ।
सर्पहरू गृष्म ऋतुमा जमिनबाहिर र शीत ऋतु जाडोमा जमिनमित्र दुलोमा बस्दछन् । सर्प अक्सर दुलोमा बस्दछन् । सर्पलाई सधाएर, नाच्न लगाएर त्यसबाट आयआर्जन गरेर जीवननिर्वाह गर्ने चटकीहरू पनि छन् । नागबाट बहुमूल्य, अति दुर्लभ र उपयोगी नागमणि पाइन्छ भन्ने किम्वदन्ती पनि छ । कुण्डलीमा राहु, केतुको दोष भएकाहरुले पनि आजको दिनमा विधिवत् रुपमा भगवान शिवको पूजा गरेमा अथवा नाग देवताको पूजा गरी विशेष मन्त्रको जप गरे राहु र केतुको दोषबाट पर्ने प्रभाव हटेर जीवनमा सुख मिल्ने धार्मिक विश्वास छ ।