धर्मेन्द्र कुमार साह, रौतहट ।पूर्व–पश्चिम महेन्द्र राजमार्गको चन्द्रनिगाहपुर चोकदेखि करिब ४ किलोमिटर पूर्व–उत्तरतर्फ पर्ने चन्द्रपुर नगरपालिका–२ जुडिवेलास्थित मुसहर बस्तीमा अहिले चरम पानी संकट देखिएको छ। करिब ४५ घरधुरी रहेको यो बस्तीमा वर्षेनी देखिँदै आएको पानी अभाव यस वर्ष झनै चर्किएको छ। गर्मीको चर्को घामसँगै यहाँका बासिन्दाहरू दैनिक पानीका लागि संघर्ष गरिरहेका छन्।
बस्तीको एक मात्र सार्वजनिक धारामा भर पर्न बाध्य यहाँका परिवारहरू बिहान सबेरै उठेर पालोको प्रतीक्षा गर्न बाध्य छन्। ४५ वर्षीय उर्मिला देवी माझी भन्छिन्, “धारामा ढिला पुगियो भने पानी थप्न पाउँदैनौं। भिड, किचलो, तनाव—जिन्दगी यस्तै बित्दैछ।”
धारा एउटा, आश्रित सय घर
उक्त बस्तीका ४५ मुसहर परिवार मात्र होइन, त्यससँगै जोडिएको चौधरी टोलका करिब ५० परिवार पनि सोही धारामा निर्भर छन्। करिब १०० घरधुरीका लागि एउटा मात्र पानीको स्रोत हुँदा दैनिक कामकाजमा व्यापक असर परेको छ। अधिकांश महिलाको दिन पानीका लागि धाउँदा बित्ने गरेको छ।
स्थानीय सुरेश माझी भन्छन्, “हामीसँग २–३ धुर मात्र जग्गा छ। सुत्ने, पकाउने, बाख्रा बाँध्ने सबै एउटै घरमा गर्नुपर्छ। यस्तोमा सरकारले चापाकल कसरी जडान गरिदिन सक्छ?” उनका अनुसार समस्या कुनै नयाँ होइन—वर्षेनीको पीडा हो यो।
डिप बोरिङ भए पनि समाधान अधुरो
वर्षौंअघि कुनै परियोजनाको क्रममा वस्ती अगाडि गरिएको डिप बोरिङ अहिले वार्ड कार्यालयको पहलमा समर्सेबल पम्पमार्फत सञ्चालनमा आएपछि केही सहजता त भएको छ। तर, वस्तीको जनसंख्या र बढ्दो मागका तुलनामा यो पर्याप्त छैन।
६० वर्षीय देवरत चौधरीका अनुसार, थारु टोलका २५ भन्दा बढी घर परिवार पनि अहिले यही धारामा भर पर्छन्। “चापाकलको गहिराइ कम भएकाले धेरैजसो सुकिसकेका छन्। अहिले ४०० फिट गहिराइको बोरिङ मात्रै चलेको छ,” उनले बताए।
महिलामाथिको दोहोरो बोझ
पानीको अभावले सबैभन्दा धेरै असर यहाँका महिलाहरूमा परेको छ। सरसफाइ, नुहाउने, भाँडा माझ्ने, खाना पकाउनेलगायत सबै काममा पानी आवश्यक पर्छ। महिलाहरू घण्टौं पानीको पर्खाइमा लाग्दा बालबालिका, विशेषगरी बालिकाहरू विद्यालय जानबाट बञ्चित छन्।
स्थानीय महिला चन्दा माझी भन्छिन्, “भाँडा माझ्नसमेत सडक छेउको धारामा जानुपर्छ। घरको ठाउँ नै छैन, के गर्नु?”
नुहाउने घर नहुँदा खुल्लामै नुहाउने बाध्यता
बस्तीमा नुहाउने अलग संरचना नहुँदा महिलाहरू खुला स्थानमै नुहाउन बाध्य छन्। यसले उनीहरूमा मानसिक तनाव मात्र होइन, यौनजन्य हिंसा र दुर्व्यवहारको डर समेत बढाएको छ।
स्थानीय देवनति माझी भन्छिन्, “सडक छेउमै नुहाउँदा लाज लाग्छ, तर विकल्प छैन। विशेषगरी किशोरी र महिलाहरू असुरक्षित महसुस गर्छन्।”
उर्मिला माझीको माग छ—“कम्तीमा एउटा सामूहिक नुहाउने घर, शौचालय र सुरक्षित पानीको व्यवस्था गरिनुपर्छ। हामीले आफ्नै चापाकलबाट पानी पिउने सपना त देखेकै छौं।”
स्थायी समाधान खोज्नुपर्ने माग
स्थानीय लालबाबु माझीको तर्कमा फरक दृष्टिकोण छ। उनी भन्छन्, “२–३ धुर जग्गामा सरकारले सबै सेवा कसरी दिन सक्छ? समाधान चाहिएको हो भने व्यवस्थापन गरेर बसोबास सराइ गर्नुपर्छ।”
सरकार तथा स्थानीय तहले तत्काल यस बस्तीको खानेपानी, शौचालय र नुहाउने संरचनाका लागि विशेष योजना ल्याउनुपर्ने आवश्यकता स्पष्ट देखिएको छ। अन्यथा, वर्षेनी दोहोरिने यो समस्या मानव अधिकारकै उल्लंघन बन्ने खतरा रहन्छ।